ब्याटिङमा खराब प्रदर्शन गरेपछि नेदरल्यान्ड्ससँग नेपाल पराजित: सन्दीपको अभाव खट्किएकै हो ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ जेष्ठ २०८१, बुधबार
2 Min Read
Aa

काठमाडौं – आईसीसी टी २० विश्वकपको आफ्नो पहिलो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेपछि नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्याण्ड्सले १८.४ ओभरमा ४ विकेठ विकेट गुमाएर पूरा गरेको हो । नेदरल्याण्ड्सका लागि ओपनर म्याक्स ओ’डाउडले अविजित रहँदै सर्वाधिक ५४ रन बनाए । ४८ बल खेलेका उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै विक्रमजित सिंहले २२ र साएब्रान्ड एंगलब्रेक्टले १४ रन जोडे । बास डे लिडले अविजित ११ रन बनाए ।

नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए । त्यसअघि डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर १०६ रन बनाएको हो ।

एक दशकपछि दोस्रो पटक टी२० विश्वकप खेलिरहेको नेपालले पहिलो खेलमा राम्रो सुरुवात गर्ने लक्ष्य राखेको थियो । तर एसोसिएट क्रिकेटकै बलियो टोली नेदरल्याण्ड्स विरुद्धको नेपालको ब्याटिङ राम्रो हुन सकेन ।

चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाएको नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए । उनले ५ चौका प्रहार गरे । रोहितले एक छेउबाट इनिङ्स सम्हाल्ने प्रयास गरेपछि गतिलो साथ पाउन सकेनन् ।

लोअर अर्डरमा करण केसीले १२ बल खेल्दै २ छक्का मदतमा १७ रन जोडे । गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा २ चौका मदतमा ११ रन जोडे ।

नेपालका लागि दोस्रो पटक टी२० विश्वकप खेल्ने एक मात्र खेलाडी सोमपाल कामी शुन्यमा आउट भए । अन्तिम विकेटका रुपमा आउट भएका अभिनाश बोहराले पनि खाता खोल्न सकेनन् ।

नेपाललाई अलआउट गर्न बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए । ब्याटिङमा नेपाली टिमको खराब प्रदर्शनका कारण हार बेहोरेपनी नेपाली समर्थकहरूले स्टार लेग स्पिनर सन्दीप लामिछाने अनुपस्थित भएका कारण हार बेहोरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array