काठमाडौं – नेपालका कीर्तिमानी आरोही निर्मल पुर्जामाथि विदेशी महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । अमेरिकी पत्रिका ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौं आएका बेला एक होटलमा पुर्जाले दुव्यर्वहार गरेको दावी गरिन् ।
डिसेम्बरमा प्रकाशन भएको आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले एक जना चर्चित आरोहीसँग अप्रिय घटना भएको उल्लेख गरेकी थिइन् । पुस्तकमा उनले पुर्जाको नाम नलिइ आफ्नो सहमतिविना ती व्यक्तिले चुम्बन गरेको भनेकी थिइन् ।
शुक्रबार न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा ती व्यक्ति पुर्जा भएको खुलाउँदै उनले होटलको कोठाभित्र के–के भएको थियो भन्ने पनि खुलाएकी छन् । उनका अनुसार, पुर्जाले लबीमा कफी पिउनको साटो कोठासम्म लिएर गएका थिए ।
‘मैले इन्कार गर्दा गर्दै उसले मेरो कपडा खोल्न थालेपछि म जमे जस्तो भएको थिएँ, शरीरबाट बाहिर गएको जस्तो महसुस गरिरहेको थिएँ’, उनले भनेकी छन्, ‘मैले महिनावारी भएको छ भन्दा पनि उनी रोकिएनन्, एकपटक मेरो गोप्य अंगसम्म हात पुर्याए ।’
उनका अनुसार, निम्स त्यतिबेला यस्तो अवस्थामा थिए, जतिबेला ‘नो’ भन्नुको उनलाई कुनै अर्थ थिएन । ब्रिटिस सेनामा प्रशिक्षण लिएको र बलियो व्यक्ति भएकाले आफू एकदमै डराएको उनले भनेकी छन् । आफूले निरन्तर अस्वीकार गरिरहेपछि निम्स एकदमै रिसाएको उनले भनेकी छन् । पछि पुर्जा बाथरुममा प्रवेश गरेका बेला आफूले लुगा लगाएको उनले भनेकी छन् ।
न्यूयोर्क टाइम्सका अनुसार, यो आरोपमाथि पुर्जाले भने प्रतिक्रिया दिन चाहेनन् । यद्यपि, उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै ‘आरोप झुठो र अपमानजनक भएको’ बताएका छन् ।
क्यालिफोर्नियाकी एक जना डा. अप्रिल लियोनार्दोले पनि पुर्जाले आफ्नो अनुमतिविना पटकपटक तानेर चुम्बन गरेको आरोप लगाएकी छन् । विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइड गरेका निम्सले दुर्व्यवहार गरेको उनले भनेकी छन् । उनको आरोपको पनि निम्सका वकिलले भने खण्डन गरेका छन् ।
यो घटनापछि दुवैले महिलाले साथीभाइ र परिवारलाई यसबारे सुनाएको र ती म्यासेजहरू न्यूयोर्क टाइम्सले हेरेको रिपोर्टमा उल्लेख छ । पुर्जा आफ्नो एलाइट हिमालयन एड्भेन्चरमार्फत आरोहीलाई हिमाल चढ्न सहयोग गर्छन् ।


प्रतिक्रिया दिनुहोस्