काठमाडौं – इन्डियन प्रिमियर लिग आइपीएलको जारी सिजनमा सानदार प्रदर्शन सहित अंक तालिकाको शिर्ष स्थानमा रहेको राजस्थान रोयल्समाथि सनराइजर्स हैदरावादले एक रनको रोमाञ्चक जित हात पारेको छ ।
२०२ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय रन बनायो । राजस्थानलाई अन्तिम बलमा जितको लागि २ रन चाहिँदा भुवनेश्वर कुमारले रोभम्यान पावेललाई एलबीडब्लू आउट गर्दै रोमान्चक जित दिलाए । एक समय १८ बलमा २७ रन चाहिँदा राजस्थानको ६ विकेट हातमा थियो । अन्तिम तीन ओभरमा भने राम्रो गर्न सकेन ।
पहिलो ओभर मै भुवनेश्वर कुमारले जस बटलर र सञ्जु स्यामसनलाई शून्यमा आउट गर्दै हैदराबादलाई खेलमा ल्याएका थिए । तर तेस्रो विकेटका लागि रियान पराग र यशस्वी जैसवालले १३४ रनको शतकीय साझेदारी गर्दै राजस्थानको सहज जितको आधार तय गरेका थिए ।
टी नटराजनको १४ औं ओभरको तेस्रो बलमा जैसवाल योर्कर बलमा ल्याप सट खेल्ने धुनमा बोल्ड भएपछि हैदराबाद खेलमा फर्किएको थियो ।
शिम्रन हेटमायर १३, रोभम्यान पावेल २७, ध्रुव जुरेल १ रनमा आउट भए ।
हैदरावादका भुवनेश्वर कुमारले ४ ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । प्याट कमिन्स र टी नटराजनले २–२ विकेट लिए । त्यसअघि घरेलु मैदानमा टस जितेर पहिला ब्याटिङ जितेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाउँदै २०१ रन बनाएको थियो ।
हैदरावादका नितेश कुमार रेड्डी ४२ बलमा ३ चौका र ८ छक्कासहित ७६ रनमा नट आउट रहे । हेनरिक क्लासेन १९ बलमा ३ चौका र ३ छक्कासहित ४२ रन बनाए । ट्रविस हेड ४४ बलमा ६ चौका र ३ छक्कासहित ५८, अभिषेक शर्मा १२ र अमोलप्रीत सिंह ५ रनमा आउट भए ।
राजस्थानका आवेश खानले २ र सन्दीप शर्माले १ विकेट लिए । राजस्थान १० खेलमा ८ मा जित र २ मा हारसहित १६ अंकका साथ शीर्षस्थानमा छ ।
हैदराबाद १० खेलमा ६ मा जित र ४ मा हारसहित १२ अंकका साथ चौथो स्थानमा छ । कोलकाता ९ र लखनऊ १० खेलमा १२/१२ अंक भएपनि नेटरनरेटको कारण दोस्रो र तेस्रो स्थानमा छन् ।
आइपीएलमा आज अंक तालिकाको नवौं स्थानमा रहेको मुम्बई इन्डियन्सले अंक तालिकाको दोस्रो स्थानमा रहेको कोलकाता नाइट राइडर्सको सामना गर्दै छ । मुम्बईको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि सुरु हुँदै छ ।


प्रतिक्रिया दिनुहोस्