च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल र बार्यनको बराबरी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ बैशाख २०८१, बुधबार
2 Min Read
Aa

काठमाडौं – युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा स्पेनिस क्लब रियल म्याड्रिड र जर्मन जायन्ट बार्यन म्युनिखले २-२ गोलको बराबरी खेलेका छन्। ब्राजिलयन स्टार भिनिसियस जुनियरले दुई गोल गर्दा रियलले अवे मैदानमा बराबरी गरेको हो।

बार्यनको घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा रियलले पहिलो हाफमा अग्रता बनाएको थियो। तर बार्यनले दोस्रो हाफमा लगातार गोल गर्दै खेलमा अग्रता लियो। तर अन्तिम समयमा बायर्न अग्रता गुमाउन पुग्दा खेल २-२ गोलको बराबरीमा सकियो।

रियलले घरेलु समर्थकलाई शान्त पार्दै २४ औं मिनेटमा भिनिसियस जुनियरको गोलमार्फत अग्रता लिएको थियो। मिडफिल्डबट टोनी क्रुसले दिएको पासलाई जुनियरले सदुपयोग गर्दै रियललाई अग्रता दिलाएका थिए। भिनिसियसले बायर्न गोलरक्षक म्यानुएल नुएरलाई बिट गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए।

तर दोस्रो हाफको घरेलु टोली खेलमा फर्कियो। ५३औं मिनेटमा लिरोए सानेले आफ्नो एकल प्रयासमा गरेको शक्तिसाली प्रहार गोलमा परिणत हुँदा बार्यनले खेललाई १-१ को बराबरीमा ल्यायो। त्यसको चार मिनेट पछिनै बायर्नले खेलमा अग्रता बनायो। लुकास भास्केजले बक्स भित्रबाट जमाल मुसीयालामाथि फाउल गरेपछि पाएको पेनाल्टीलाई इंग्लिस स्टार ह्यारी केनले कुनै गल्ती गरेनन्। यद्यपि, बार्यनले घरेलु मैदानमा पहिलो लेगको जितको खुसी साँट्न भने पाएन।

८३औं मिनेटमा रियलले पेनाल्टीमार्फत् खेल बराबरीमा ल्यायो। डिफेन्डर किम मिन-जेले रोड्रीगो माथि फाउल गरेपछि पाएको पेनाल्टीमा भिनिसियस जुनियरले ब्यक्तिगत दोस्रो गोल गर्दा पहिलो लेग २-२ गोलको बराबरीमा सकियो। यी दुईबिचको दोस्रो लेग आगामी साता रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा हुनेछ। उक्त खेलको विजेताले फाइनलमा स्थान बनाउने छ।

आज हुने दोस्रो सेमिफाइनल खेलमा पेरिस सेन्ट जर्मैइन (पिएसजी) र बोरुसिया डर्टमुण्ड भिड्ने छन् । पहिलो लेग डर्टमुन्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा मध्यराति १२:४५ मा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

Array