कोलकोतामाथि पञ्जाबको विश्व कीर्तिमानी जित: दिल्ली र मुम्बई तथा लखनउ र शीर्षस्थानको राजस्थान आज भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ बैशाख २०८१, शनिबार
2 Min Read
Aa

काठमाडौं – ओपनर जोनी बेयरस्टोको शतक र शशांक सिंहको हिटिङको सहयोगमा पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपीएल)मा कोलकाता नाइट राइडर्समाथि ८ विकेटको विश्व कीर्तिमानी जित हात पारेको छ ।

पञ्जाबले टी-२० इतिहासकै सर्वाधिक २६२ रन पूरा गरेको हो । यसअघि टी-२० मा सन् २०२३ मा दक्षिण अफ्रिकाले वेस्टइन्डिजविरुद्ध २५९ रन चेस गरेको थियो ।

२६१ रनको लक्ष्य पञ्जाबले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । पञ्जाबको जितमा जोनी बेयरस्टो ४८ बलमा ८ चौका र ९ छक्कासहित १०८ रनमा नट आउट रहे । खराब लयपछि बारिह भएका बेयस्टोको यो शतकले पन्जाबलाई ठूलो राहतसमेत दिनेछ । ओपनर प्रभशिम्रन सिंहले २० बलमा ४ चौका र ५ छक्कासहित ५४ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

शशांक सिंह २८ बलमा २ चौका र ८ छक्कासहित ६८ रनमा नट आउट रहे । राइली रोसोउ २६ रनमा आउट भए । कोलकाताको एक मात्रै विकेट सुनिल नारायणले लिए ।

त्यसअघि इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ निम्तो पाएको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २६१ रन बनाएको थियो । कोलकाताका ओपनर फिलिप साल्टले ३७ बलमा ६ चौका र ६ छक्कासहित ७५ रन बनाए । सुनिल नारायणले ३२ बलमा ९ चौका र ४ छक्कासहित ७१ रन बनाए ।

वेंकटेश ऐर ३९, आन्द्रे रसेल २४, श्रेयस ऐर २८ र रिंकु सिंह ५ रनमा आउट भए । पञ्जाबका अर्शदीप सिंहले २, साम करन, हर्षल पटेल, राहुल चाहरले १-१ विकेट लिए ।

आइपीएलमा यसअघि सर्वाधिक रन चेस २०२० मा राजस्थान रोायल्सले पञ्जाबमाथि २२४ रनको पूरा गरेको थियो । यसै वर्ष राजस्थानले कोलकातासँग पनि २२४ रनको लक्ष्य पूरा गरेको थियो ।

९ खेलपपिछ पञ्जाबको ६ अंक पुगेको छ र टोली आठौं स्थानमा छ । १० अंकसहित कोलकाता दोस्रो स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको १४ अंक छ । आइपीएलमा शनिबार दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स तथा दोस्रो खेल लखनउ सुपर जाइन्ट्स र शीर्षस्थानको राजस्थान रोयलबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array