पन्तको उत्कृष्ट ब्याटिङमा गुजरातमाथि दिल्लीको उत्कृष्ट जित: आजको खेलमा बैंगलुरुले हैदरावादको सामना गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ बैशाख २०८१, बिहीबार
3 Min Read
Aa

काठमाडौं – कप्तान ॠषभ पन्तको उत्कृष्ट फिनिसिङ ब्याटिङ सहयोगमा इन्डियन प्रिमियर लिग आइपीएलमा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई ४ रनले पराजित गरेको छ । २२५ रनको विशाल विजयी लक्ष्य पछ्याएको गुजरात २० ओभरमा ८ विकेट गुमाउँदै २२० रनमात्रै बनाएपछि दिल्लीले गुजरातमाथि रोमाञ्चक जित कायम गर्दै आफ्नो प्लेअफ सम्भावना जिवित राखेको छ ।

अन्तिम ओभरमा जित्नलाई गुजरातलाई १९ रन चाहिएको थियो । मुकेश कुमारलाई राशिद खानले पहिलो र दोस्रो बलमा चौका र पाँचौं बलमा छक्का हाने पनि जिताउन सकेनन् । डेविड मिलर २३ बलमा ६ चौका र ३ छक्कासहित ५५ रनमा आउट भए । राशिद खान ११ बलमा २१ रनमा नट आउट रहे ।

साइ सुदर्शन ३९ बलमा ७ चौका र २ छक्कासहित ६५ रनमा आउट भए । कप्तान शुभमन गिल ६ र रिद्दिमान शाह २५ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा आउट भए ।

दिल्लीका राशिख सलामले ४ ओभरमा ४४ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले २ विकेट लिए । मुकेश कुमार, एनरिच नोर्किया र अक्षर पटेलले १–१ विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै २२४ रन बनाएको थियो । दिल्लीका कप्तान ऋषभ पन्तले ४३ बलमा ५ चौका र ८ छक्कासहित सर्वाधिक ८८ रन बनाए ।

अक्षर पटेलले ४३ बलमा ५ चौका र ४ छक्कासहित ६६, पृथ्वी शा ११, जेक फ्रेजर म्याकगर्क २३ र शाई होप ५ रनमा आउट भए । स्टब्सले तल्लोक्रममा ७ बलमा ३ चौका र २ छक्कासहित २६ रन वनाए ।

गुजरातका सन्दिप वारियरले ३ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । नुर अहमदले १ विकेट लिए । मोहित शर्माले ४ ओभरमा ७३ रन खर्चिए ।

दिल्ली ९ खेलमा ४ मा जितसहित छैटौं स्थानमा छ । गुजरात ९ खेलमा ८ अंकका साथ सातौं स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा १४ अंकका साथ शीर्षस्थानमा कायमै छ ।

आइपीएलमा आजको खेलमा आइपीएलको जारी सिजनमा निकै कमजोर प्रदर्शन सहित अंक तालिकाको अन्तिम स्थानमा रहँदै प्लेअफको सम्भावना समाप्त भैसकेको रोयल च्यालेन्जर्स बैंगलुरुले ब्याटिङको बलमा आफ्नो दबदबा राख्दै आएको सनराइजर्स हैदरावादको सामना गर्दै छ । हैदरावादको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्

Array