जैसवालको शतकमा मुम्बई विरुद्ध राजस्थानको सानदार जित, आजको खेलमा चेन्नाई र लखनउ भिड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ बैशाख २०८१, मंगलवार
3 Min Read
Aa

काठमाडौं – युवा ओपनर यशस्वी जैसवालको शतक र तीब्र गतिका बलर सन्दीप शर्माको पाँच विकेटमा इन्डियन प्रिमियर लिग आइपीएलमा मुम्बई इन्डियन्समाथि ९ विकेटको सानदार जित निकाल्दै आठ खेलमा सातौ जित निकाल्दै राजस्थान रोयल्स प्लेअफ नजिक पुगेको छ भने खराब लयमा रहेको मुम्बईको प्ले अफ सम्भावना कठिन बन्दै गएको छ ।

१८० रनको लक्ष्य राजस्थानले १८.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर यशस्वी जैसवालले ६० बलमा ९ चौका र ७ छक्कासहित १०४ रनको अविजित इनिङ खेले । सुरुवातमा लय समाउन संघर्ष गरेका जैसवाललाई यो शतकले ठूलो राहत दिनेछ ।

कप्तान सञ्जु स्यामसन २८ बलमा २ चौका र २ छक्कासहित ३८ रन बनाए । जस बटलर २५ बलमा ६ चौकासहित ३५ रन जोडे । मुम्बईको एक मात्रै विकेट स्पिनर पियुष चावलाले लिए ।

त्यसअघि राजस्थानको घरेलु मैदान जयपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । मुम्बईका तिलक बर्माले ४५ बलमा ५ चौका र ३ छक्कासहित ६५ रन बनाए । नेहाल बढेराले २४ बलमा ३ चौका र ४ छक्कासहित ४९ रन बनाए । एक समय ७.३ ओभरमा ५२–४को अवस्थामा पुगेको मुम्बईलाई नेहाल र तिलकले ९९ रनको साझेदारी गरेका थिए ।

ओपनर रोहित शर्मा ६, ईशान किशन शून्य, सूयकुमार यादव १०, मोहम्मद नाबी २३ र हार्दिक पान्ड्या १० रनमा आउट भए ।

राजस्थानका सन्दीप शर्माले ४ ओभरमा १८ रन खर्चेर ५ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा ३२ रन खर्चेर २, आवेश खान र युजभेन्द्र चहलले १–१ विकेट लिए ।

राजस्थान ८ खेलमा ७ मा जित र १ मा हारसहित १४ अंकका साथ शीर्ष स्थानमा छ । मुम्बई ८ खेलमा ३ मा जितसहित सातौं स्थानमा छ । मुम्बई प्लेअफमा पुग्न बाँकी सबै खेल जित्नुपर्ने समीकरण छ ।

आइपीएलमा आज लखनउ सुपर जायन्ट्सले डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंग्सको सामना गर्दै छ । साँझ ७:४५ बजेदेखि चेन्नाईको घरेलु मैदानमा हुने खेलमा जित निकाल्दै प्लेअफ सम्भावना बलियो बनाउने दुबै टिमको रणनीति छ । सात खेलबाट समान ८ अंक जोडेका लखनउ र चेन्नाई अंक तालिकाको चौथो र पाँचौ स्थानमा आसिन छन् आजको खेलमा जित निकाल्ने टोलीलाई अंक तालिकाको तेस्रो स्थानमा उक्लिने अवसर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array