दिल्लीमाथि हैदरावादको सहज जित: आजको खेलमा कोलकाता र बैंगलुरु तथा पञ्जाव र गुजरात भिड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ बैशाख २०८१, आईतवार
3 Min Read
Aa

काठमाडौं – दुई ओपनर ट्रविस हेड र अभिषेक शर्माको कीर्तिमानी विष्फोटक ब्याटिङमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटल्समाथि ६७ रनको सहज जित हात पारेको छ । पाँचौं जितसँगै दोस्रो स्थानमा उक्लिएको हैदराबादले प्लेअफ सम्भावना बलियो बनाएको छ ।

२६७ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १९९ रनमा अल आउट भयो । दिल्लीका ज्याक फ्रेजर म्याकगुर्कले १८ बलमा ६ चौका र ७ छक्कासहित ६५ रन बनाए । ऋषभ पन्त ४४, अभिषेक पोरल ४२,पृथ्वी शा १६ र डेविड वार्नर १ रनमा आउट भए । हैदराबादका टी नटराजनले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । मयंक मारकंडे र नितेश रेड्डीले २/२ तथा वासिन्टन सुन्दर र भुवनेश्वर कुमारले १/१ विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनाएको थियो । हैदराबादले यसअघि मुम्बईविरुद्ध २७७ र बैंगलुरुविरुद्ध २८७ रन बनाएको थियो । हैदराबादका ट्रविस हेडले ३२ बलमा ११ चौका र ६ छक्कासहित ८९ रन बनाए । अभिषेक शर्मा १२ बलमा २ चौका र ६ छक्कासहित ४६ रनमा आउट भए । यी दुई ओपनरले पावर प्ले अर्थात सुरुवाती ६ ओभरमा १२५ रन बनाएका थिए ।

आइपीएलमा पावर प्लेमा बनेको सर्वाधिक रन हो । यसअघि कोलकाताले बेंगलोरविरुद्ध २०१७ मा १०५ रन बनाएको थियो । शहबाज अहमदले २९ बलमा २ चौका र ५ छक्कासहित ५९, एडेन माक्ररम १, हेनरिक क्लासेन ३७ र अब्दुल सामदले १३ रन बनाए ।

दिल्लीका कुलदीप यादवले ४ ओभरमा ५५ रन खर्चेर ४, मुकेश कुमार र अक्षर पटेलले १/१ विकेट लिए । राजस्थान ७ खेलमा १२ अंकका साथ शीर्षस्थानमा छ । दिल्ली ८ खेलमा ३ मा जितसहित सातौं स्थानमा छ ।

आइपीएलमा आज दुई खेल हुँदै छन्, दिउँसो १५:४५ बजे हुने खेलमा आइपीएलकै सबैभन्दा कमजोर टिम रहेको रोयल्स च्यालेन्जर्स बैंगलुरुले कोलकाता नाइट राइडर्सको सामना गर्दै छ । ७ खेलमा एक खेल मात्रै जितेको बैंगलुरुको हार वा जितले अफ प्लेअफ पुग्ने सम्भावना नरँहदा कोलकाताका लागि भने आजको खेल महत्त्वपूर्ण छ ।

आइपीएलको दोस्रो खेलमा आज पञ्जाव किंग्सले गुजरात टाइटन्सको सामना गर्दै छ । कमजोर प्रदर्शनलाई निरन्तरता दिई रहेको पञ्जावको पनि आजको खेलमा हार बेहोरे प्लेअफ सम्भावना लगभग समाप्त हुनेछ भने अंक तालिकाको आठौं स्थानमा रहेको गुजरातलाई पनि प्लेअफ सम्भावना जिवित राख्न आजको खेल निकै महत्त्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्

Array