लखनउसँग चेन्नई ८ विकेटले पराजित: आजको खेलमा कमजोर दिल्लीले बलियो हैदरावादको सामना गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ बैशाख २०८१, शनिबार
2 Min Read
Aa

काठमाडौं – इन्डियन प्रीमियर लिग आइपीएलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स लखनउ सुपर जायन्ट्ससँग ८ विकेटले पराजित भएको छ । कप्तान केएल राहुल र क्विन्टन डि ककको शतकिय साझेदारीको मद्दतमा लखनउले चेन्नाईलाई पराजित गरेको हो ।

चेन्नईले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य लखनउले १९ ओभरमा मात्र २ विकेटको क्षतिमा पछ्यायो । लखनउका लागि कप्तान केएल राहुलले सर्वाधिक ८२ रन बनाए । उनले ५३ बलमा ९ चौका र ३ छक्का हिर्काए ।

उनलाई अर्का ओपनर क्वीनटन डी ककले ५४ रन बनाउँदै राम्रो साथ दिए । दुवै मिलेर पहिलो विकेटका लागि १ सय ३४ रनको साझेदारी गरेका थिए । निकोलस पुरनले नटआउट रहँदै २३ रन बनाएर टोलीलाई जितसम्म डोर्‍याए । चेन्नईका लागि मुस्तफिजुर रहमान र मथिसा पाथिरानाले १–१ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । चेन्नईका लागि रवीन्द्र जाडेजाले सर्वाधिक ५७ रनको योगदान दिए । त्यस्तै, ओपनर अजिंक्या रहानेले ३६ रन तथा मोइन अलीले ३० रन बनाए ।

खेलको अन्त्यतिर पूर्वकप्तान महेन्द्रसिंह धोनीले ९ बलमा २८ रनको विस्फोटक इनिङ्स खेले । उनले यस क्रममा ३ चौका र २ छक्का हिर्काए । लखउनका लागि क्रुनाल पाण्ड्याले २ विकेट लिए । भने मोहसिन खान, यश ठाकुर, रवि विश्नोई र मार्कस स्टोइनिसले १–१ विकेट लिए ।

जितपछि लखनउ ७ खेलबाट ८ अङ्क बटुल्दै अङ्क तालिकाको पाँचौँ स्थानमा छ । समान अङ्क रहेको चेन्नई नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ ।

आइपीएलमा आज जारी सिजनमा कमजोर प्रदर्सन गरिरहेको दिल्ली क्यापिटल्सले यो सिजनको विस्फोटक क्रीकेट खेलिरहेको सनराइजर्स हैदरावादको सामना गर्दै छ । दिल्लीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार साँझ ७:४५ बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Array