आर्सनललाई पराजित गर्दै बायर्न म्युनिख र साविक विजेता म्यानचेष्टर सीटीलाई पराजित गर्दै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ बैशाख २०८१, बिहीबार
2 Min Read
Aa

काठमाडौं – इंग्लिस क्लब आर्सनललाई पराजित गर्दै जर्मन क्लब बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति घरेलु मैदानमा भएको क्वार्टरफाइनलको दोस्रो लेगमा १–० को जित निकालल्दै समग्रमा ३–२ को जितसहित बायर्नले सेमिफाइनल यात्रा तय गरेको हो।

आर्सनलको घरेलु मैदानमा भएको क्वार्टरफाइनलको पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो। बायर्नका लागि खेलको ६३ औँ मिनेटमा जोसुवा किमिचले गरेको गोल नै निर्णायक बन्यो। आर्सनल सन् २००८–०९ यता च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न सकेको छैन।

यता साविक विजेता म्यानचेष्टर सीटी युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमै रोकिएको छ। बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा सीटीलाई टाइब्रेकरमा पराजित गर्दै रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

इत्तिहाद स्टेडियममा भएको खेलमा रियलले सीटीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो। क्वार्टरफाइनलको दोस्रो लेग निर्धारित समयमा १–१ को बराबरीमा टुंगिएको थियो। थप समयमा पनि गोल हुन नसकेपछि समग्रमा ४–४ बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। पहिलो लेगमा पनि ३–३ को बराबरी भएको थियो।

रियलका गोलरक्षक लुनिनले दुई पेनाल्टी प्रहार जोगाएपछि १४ पटकको च्याम्पियन टोली रियलले साविक विजेता सीटीलाई क्वार्टरफाइनलमै रोकेको हो।

खेलको १२ औँ मिनेटमा रोड्रिगोको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफमा १–० ले पछि परेको सीटीले दोस्रो हाफमा पुनरागमन गरेपनि टोलीका लागि पर्याप्त भएन। खेलको ७६ औँ मिनेटमा डि ब्रुएनको गोलमा सीटी खेलमा फर्किएको थियो।

यो हारसँगै सीटीको च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कपको अर्को ट्रेवल उपाधि जित्ने यात्रामा धक्का पुगेको छ।

रियलले अब फाइनल प्रवेशका लागि बायर्न म्युनिखको सामना गर्नेछ। योसगै च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा भएको छ।

सेमिफाइनलमा बायर्न र रियल तथा पिएसजी र बरुसिया डर्टमुन्ड खेल्नेछन्। मंगलबारराति भएको खेलमा पिएसजीले बार्सिलोनालाई तथा डर्टमुन्डले एथलेटिको मड्रिडलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेका थिए।

दुबै सेमिफाइनलको पहिलो लेग ३० अप्रिलमा हुनेछ। दोस्रो लेग ७ मे मा हुनेछ। फाइनल खेल १ जुनमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

Array