आईपिएलमा चेन्नईको विजयी शुरुवात, आज दुई खेल हुदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० चैत्र २०८०, शनिबार
5 Min Read
Aa

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपिएल) को उद्घाटन खेलमा चेन्नई सुपर किंग्सले विजयी शुरुवात गरेको छ । आईपिएलको डिफेन्डिङ च्याम्पियन्स समेत रहेको चेन्नईले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको हो । बैंगलुरुले दिएको १७४ रनको लक्ष्य पछाएको चेन्नईले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

चेन्नईको जितमा रचिन रविन्द्रले सर्बाधिक ३७ रन बनाएका थिए । डेभ्यु आईपिएल खेल खेलिरहेका रचिनले १५ बलमा ३७ रन बनाएका थिए । त्यस्तै आजिख्य रहानेले २७, कप्तान रुतुराज गायकवाडले १५, डार्यल मिचेलले २२, शिभम दुवेले २६ र रविन्द्र जडेजाले २८ रन बनाएका थिए ।

त्यसैगरी बैंगलुरुका बलर क्यामरुन ग्रीनले २ विकेट लिए भने कर्ण शर्मा र यश दयालले एक एक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ६ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।

रोयल च्यालेन्जर्स बैंगलुरुका लागि अनुज रावतले सर्बाधिक ४८ रन बनाएका थिए । रावतले २५ बलमा आक्रामक ब्याटिंग गर्दै ४८ रन बनाएका थिए । त्यसैगरी दिनेश कार्तिकले २६ बलमा अविजित ३८ रन बनाए भने कप्तान फाफ डु प्लेसिसले ३५, विराट कोहलीले २१ तथा क्यामरुन ग्रिनले १८ रन बनाएका थिए ।

त्यसैगरी चेन्नईका बलर मुस्ताफिजुर रहमानले सर्बाधिक ४ विकेट लिएका थिए । रहमानले ४ ओभरमा २९ रन दिएर ४ विकेट लिएका थिए । त्यस्तै दीपक चहरले एक विकेट लिएका थिए । यो जितसँगै चेन्नईले २ महत्वपूर्ण अंक हासिल गरेको छ भने बैंगलुरुले हारसँगै नयाँ सिजनको शुरुवात गरेको छ ।

यस्तै आईपिएल अन्तर्गत आज दुई खेल हुदैछन् । आज अपराह्न ३:४५ देखि पहिलो खेल पञ्जाव किंग्स र दिल्ली क्यापिटल्सबीच हुदै छ भने दोस्रो खेल साँझ ७:४५ बजेदेखि कोलकोता नाइटराइडर्स र सनराइजर्सबीच हुदै छ ।

पञ्जाव किंग्स भर्सेस दिल्ली क्यापिटल्स

आईपिएलको इतिहासमा पञ्जाव र दिल्ल्लीले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेका छैनन् । पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहेका छन् । पछिल्लो बर्षमा शिखर सक्रिय क्रिकेटबाट बाहिर रहेका छन् । उनी राष्ट्रिय टिमबाट बाहिर छन् भने घरेलु क्रिकेट समेत खेलेका छैनन् । ३८ बर्षिय धवन पछिल्लो आईपिएल देखि कुनै क्रिकेट नखेलेकाले उनका लागि यो आईपिएल महत्वपूर्ण हुनसक्ने देखिन्छ । आईपिएलको प्रदर्शनले उनले राष्ट्रिय टिममा पुनरागमनको प्रयास गर्ने छन् । त्यस्तै पञ्जावका भारतका जितेश शर्मा, अर्शदीप सिंह, हर्षल पटेल जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, सिकन्दर राजा, साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

आईपिएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौ भएको थियो ।

त्यसैगरी दिल्ली क्यापिटल्स ऋषव पन्तको कप्तानीमा यस सिजनको आईपिएल खेल्दै छ । दुर्घटनाका कारण लामो समय क्रिकेटबाट टाढा रहेका पन्तले आईपिएलबाट क्रिकेटमा पुनरागमन गर्दै छन् । आइपिएलको प्रदर्शनले उनलाई राष्ट्रिय टिमको बाटोमा लैजाने छ । दिल्लीमा कप्तान ऋषवका अलावा कुलदीप यादव, अक्सर पटेल जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुन सक्छ । त्यस्तै डेविड वार्नर, मिचेल मार्श जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुनसक्ने देखिन्छ ।

दिल्ली क्यापिटल्सको आइपिएलमा २०२० मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको सबैभन्दा राम्रो प्रदर्शन हो । गत सिजनमा दिल्ली नवौं स्थानमा रहेको थियो ।

कोलकोता नाइटराइडर्स भर्सेस सनराइजर्स हैदरावाद

कोलकोता श्रेयस अय्यरको कप्तानीमा आईपिएल खेल्दै छ । कोलकोताका लागि यस सिजनमा उनको भूमिका महत्वपूर्ण हुने देखिन्छ । विवादपछि भारतीय क्रिकेट बोर्डको सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका श्रेयसले आईपिएलको प्रदर्शनबाट बोर्डलाई जवाफ दिने प्रयास गर्ने छन् । त्यस्तै उनी बाहेक गत आईपिएलबाट उदाएका रिंकु सिंह, नितिश राना जस्ता भारतीय खेलाडी कोलकोताका लागि महत्वपूर्ण हुनसक्छन् । त्यस्तै सुनिल नारान, आन्द्रे रसेल, रह्मुनुल्लाह गुर्बाज जस्ता विदेशी खेलाडीको प्रदर्शन महत्वपूर्ण हुने देखिन्छ ।

कोलकोताले यस अघि २०१२ र २०१४ मा उपाधि जितेको छ भने २०२१ मा उपविजेता बनेको छ । गत सिजनमा कोलकोता सातौं स्थानमा आएको थियो ।

त्यसैगरी सनराइजर्स हैदरावाद अस्ट्रेलियाका कप्तान पाट कमिन्सको नेतृत्वमा आईपिएल खेल्दै छ । सनराइजर्स भारतीय भन्दा विदेशी चर्चित खेलाडीलाई लिएर यो सिजन खेल्दै छ । सनराइजर्स उमरान मालिक, राहुल त्रिपाठी, वाशिंटन सुन्दर, भुवनेश्वर कुमार र अभिषेक शर्मा जस्ता भारतीय खेलाडीमाथि बढी भर पर्नुपर्ने देखिन्छ भने कप्तान कमिन्स, वानिन्दु हसरंगा, ट्राभिस हेड, ग्लेन फिलिप जस्ता खेलाडी महत्वपूर्ण हुने देखिन्छन् ।

सनराइजर्सले २०१६ मा आईपिएलको उपाधि जितेको छ भने २०१८ मा उपविजेता बनेको थियो । गत सिजनमा भने सनराइजर्स पुछारमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array