देशैभरको मौसम बदली: कोशी र मधेशमा वर्षा, काठमाडौंमा पनि वर्षाको सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ चैत्र २०८०, बुधबार
1 Min Read
Aa

 

काठमाडौं – अहिले देशभर बदली भएको छ । कोशी र मधेश प्रदेशका केही स्थानमा भने वर्षा पनि भएको छ । यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ । यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम छ ।

आज पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रति प्रभावले कोशी र मधेशका अधिकांश स्थानमा हल्का खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । एक-दुई स्थानमा मध्यम खालको वर्षा पनि भइरहेको पनि विभागले जनाएको छ ।

कोशी प्रदेशको राजधानी विराटनगरमा भने धुलोमार्ने खालको मात्र पानी परेको छ । काठमाडौंमा पनि छिटपुट वर्षाको सम्भावना छ । काठमाडौंमा आज र भोलि पनि छिटपुट वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

विभागका अनुसार गण्डकीदेखि पश्चिमको भूभागमा भने तुलनात्मक रुपमा कम बदली छ । बदली पनि पहाडी क्षेत्रमा बढी र तराई क्षेत्रमा कम छ । बदली र वर्षा भएका स्थानमा जाडो महसुस पनि भइरहेको छ । यस्तो अवस्था भोलिसम्म कायम रहने मौसमविदको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्

Array