काँग्रेसलाई हतारोः सत्ताच्यूत हुनासाथ सदन अबरोध !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ चैत्र २०८०, शनिबार
2 Min Read
Aa

काठमाडौं – सत्तामा रहेको झन्डै एक वर्षपछि प्रतिपक्षी बेन्चमा पुगेको नेपाली कांग्रेसले सदन तताउन सुरु गरेको छ। सत्ता गठबन्धनबाट बाहिरिएको पीडामा रहेको कांग्रेसले अवरोध गर्दा प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै कांग्रेसले शुक्रबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। सहकारी ठगीमा संलग्न व्यक्तिलाई गृहमन्त्री बनाएको जिकिर गर्दै कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालले नै जवाफ दिनुपर्ने अडान राखेको छ।

- Advertisement -
Ad imageAd image

प्रतिनिधिसभाको शुक्रबार निर्धारित समयमा बसेको बैठकमा कांग्रेस सांसदहरूले प्रधानमन्त्री दाहालले जवाफ नदिएसम्म सदन अघि बढ्न नसक्ने अडान राखेका थिए। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले अनुसन्धानको घेरामा तानिएका गृहमन्त्री लामिछानेको बारेमा जवाफ दिनुपर्ने माग राखे।

सत्तामा हुँदा सहकारी ठगीका सम्बन्धमा चुइँक्क नबोलेको कांग्रेसले प्रतिपक्षी हुँदा भने प्रतिनिधिसभा नै अवरुद्ध गरेको छ। विश्लेषकहरूले प्रतिपक्षी कांग्रेसको क्रियाकलापहरूलाई दोहोरो चरित्रको संज्ञा दिएका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक पूर्वाग्रह राखेर कांग्रेसले सदन अवरोध गरेको बताइन्। सरकारी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै उनले नयाँ सरकारलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गरिन्।

‘भर्खर त सरकार पुनर्गठन भएको छ। मन्त्रीहरूले भर्खर काम गर्न सुरु गर्नुभएको छ। काम गर्न नसके आफैं सरकारबाट बाहिरिनुहुन्छ,’ मन्त्री शर्माले भनिन्, ‘तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसले राजनीतिक पूर्वाग्रह राखेर, राजनीतिक प्रतिशोध साँध्न सदन अवरोध गर्‍यो।’ सदनलाई मर्यादित र प्रभावकारी बनाउने जिम्मा सरकारको रहेको उल्लेख गर्दै मन्त्री शर्माले सदन सञ्चालनमा सहयोग गर्न कांग्रेसलाई आग्रह गरिन्।

अहिले चर्चामा रहेका विषयका सम्बन्धमा चैत ६ गते प्रधानमन्त्री दाहालले सदनमा उपस्थित भएर जवाफ दिँदैछन्। ‘सरकार जवाफबाट भागेको छैन। प्रधानमन्त्रीले सदनमा जवाफ दिने कार्यक्रम छ। त्यही बेला यस विषयमा पनि जवाफ दिनुहोला,’ मन्त्री शर्माले भनिन्।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्मा प्रधानमन्त्रीको जवाफ नआएसम्म कार्यसूचीमा प्रवेश गर्न नदिने चेतावनी दिएका थिए। कांग्रेस सांसदहरूले सहकारीलगायत प्रकरणमा जोडिएका व्यक्तिले अनुसन्धानलाई प्रभावित पार्न सक्ने भन्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने माग गरेका थिए। गृहमन्त्री लामिछानेको राजीनामा माग्दै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले आइतबारसम्मका लागि संसद् बैठक स्थगित गरेका छन्। शुक्रबारको बैठकमा आज राजनीतिक दलसम्बन्धी ऐन संशोधन विधेयक गृहमन्त्रीले पेस गर्ने तयारी थियो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्