काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा उपाधि होड रोमाञ्चक रुपमा अघि बढीरहेको छ। यो पटक त्रिकोणात्मक उपाधि भिडन्तले प्रिमियर लिगको रोमाञ्चक्ता बढेको हो। जारी सिजनकै सर्वाधिक प्रतिक्षित भिडन्तका रुपमा हेरिएको लिभरपुल र सिटीको खेल अघि तेस्रो स्थानको आर्सनलले ब्रेन्टफर्डलाई हराउँदै तत्काललाई शीर्ष स्थानमा उक्लिएको छ।
शनिबार राति भएको खेलमा आर्सनल २८ खेलबाट ६४ अङ्क बनाएर शीर्ष स्थानमा उक्लियो। एक खेल कम खेलेको लिभरपुल दोस्रो र सिटी तेस्रो स्नानमा रहेका छन्। यी तीन टोलीबिच केवल २ अङ्कको फरक छ।
शनिबार ब्रेन्टफोर्डलाई २-१ ले हराउँदा आर्सनलका लागि डेकलन राइस र काई हाभेर्ट्जले समान १-१ गोल गरेका थिए। खेलको १९औं मिनेटमा बेन व्हाइटको क्रसमा हेडर मार्फत गोल गर्दै राइसले आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए।
पहिलो हाफको अन्त्यतिर आर्सनल गोलरक्षक एरन राम्सडेलले क्लियर गर्न खोजेको बल योआन विस्सालाई लागेर गोल हुन पुग्दा पहिलो हाफ १-१ गोलको बराबरीमा सकियो। त्यसपछि बराबरी उन्मुख खेलमा निर्धारित समय सकिन ४ मिनेट बाँकी रहँदा व्हाइटकै पासमा हाभेर्ट्जले फ्रि-हेडर मार्फत सानदार गोल गर्दै महत्त्वपूर्ण तीन अङ्कसहित शीर्ष स्थानमा उक्लियो।


प्रतिक्रिया दिनुहोस्