रञ्जितालाई रेशमको ‘काउन्टर’ जवाफः सुदूरपश्चिम सरकारबाट नाउपाका मन्त्रीहरु फिर्ता हुँदैनन्

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ फाल्गुन २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सुदूरपश्चिम प्रदेश सरकारमा पार्टीका तर्फबाट सहभागी भएका मन्त्रीहरु फिर्ता नहुने बताएका छन् । आज (शनिबार) बुटवलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रदेश सरकारमा सहभागी भएका मन्त्रीहरु फिर्ता नहुने बताएका हुन् । हिजो (शुक्रबार) स्ुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालय, इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी र खुसीराम चौधरीलाई बिनाविभागीय मन्त्री बनाएका थिए ।

पार्टीको निर्णयविपरीत सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको भन्दै अध्यक्ष रञ्जिता श्रेष्ठले मन्त्रीहरुलाई कारबाही गर्ने चेतावनी दिएकी थिईन् । सरकारमा सहभागी हुन पार्टीले अनुमति पनि नदिएको र पार्टीभित्र यस विषयमा छलफलसमेत नभएकाले आफूखुसी सरकारमा सहभागी भएको अध्यक्ष श्रेष्ठको भनाइ थियो ।

तर, अध्यक्ष श्रेष्ठको भनाइविपरीत संरक्षक चौधरीले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरु फिर्ता नहुने बताएका हुन् । रेशम र रञ्जिता श्रीमान श्रीमती हुन् । उनीहरुबीच पार्टीको प्रथम महाधिवेशनदेखि नै खटपट सुरु भएको थियो । अन्ततः रञ्जिताले मनोनयन दर्ताको समयमा महाधिवेशन स्थलनै छाडेर काठमाडौं आएका थिए । अन्ततः आफ्नै अड्डीले पार्टी अध्यक्ष बनेका रेशमलाई निर्वाचन आयोगले पार्टीको साधरण सदस्य रहनसमेत अयोग्य भनेर निर्णय गरेपछि अहिले रञ्जिता नै अध्यक्ष छिन् ।सरकारमा सहभागिताबारेमा पनि उनीहरुबीच मतभेद देखापरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array