प्रचण्ड-ओली सत्ता सहकार्यको सहमतिनजिक, विप्लवदेखि झलनाथसम्म सक्रिय !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० फाल्गुन २०८०, बिहीबार
5 Min Read
Aa

 

काठमाडौं – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सत्ता-सहकार्यको लागि नवीन समझदारी बन्न लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहना र प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको बाध्यताको कारण दुई दलबीच सत्ता सहकार्यको लागि नयाँ सहमति हुन लागेको चर्चा छ ।

सत्ता गठबन्धनका मुख्य घटकहरु नेपाली कांग्रेस र माओवादी केन्द्रबीच खटपट सुरु भएसँगै एमाले नेतृत्वले माओवादीलाई आफ्नो विश्वासमा लिएर मुलुकको राजनीतिक कोर्ष परिवर्तन गर्न खोजेको छ । कांग्रेसबाट माओवादीलाई अलग बनाएर ओलीले नयाँ राजनीतिक समिकरण बनाउनेगरि आफूलाई मुभ गरेका छन् । अहिले दुई नेताबीच निरन्तर भेटवार्ता तथा फोनसम्वाद भैरहेको छ । हिजोमात्रै दुई नेताले सिंहदरबारमा झण्डै दुई घण्टा लामो समय व्यतित गरे । छलफलको मुख्य एजेण्डा नै सहकार्य गर्नेबारे थियो ।

प्रधानमन्त्री प्रचण्डले हालै बसेको पार्टीको विधान महाधिवेशनमा कांग्रेससँगको सहकार्य आफूहरुलाई घाटा भएको र पार्टीलाई निरन्तर धक्का दिएको भन्दै सहकार्यको लागि पूनर्विचार गर्नुपर्ने आवश्यकत्ता औंल्याएका थिए । प्रचण्डको यस्तो अभिव्यक्ति आउनुमा कांग्रेसकै धोकाको कारण राष्टियसभाको निर्वाचनमा कोशीमा आफ्नो पार्टीको उम्मेद्वार पराजित हुनु र मन्त्रिपरिषद् पूनर्गठनमा कांग्रेस बाधक हुने मुख्य कारण रहेको बुझिएको छ ।

प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व गरेको एक वर्ष पूरा भएको अवसरमा गरेको सम्बोधनमा मन्त्रिपरिषद् पूनर्गठन गर्ने घोषणा गरेका थिए । तर, यसको लागि कांग्रेस सभापति शेरबहादुर देउवा बाधक बने । प्रचण्डले यो विषयलाई लिएर गठबन्धनका शीर्ष नेताहरु सहभागी हुने प्रायः सबै बैठकमा पछिल्लो समय गुनासो गर्ने गरेका छन् । उनले कांग्रेसले यस्तै व्यवहार कायम राखे आफूले सहकार्य जारी राख्ने विषयमा सोच्नुपर्ने भन्दै कांग्रेस नेतृत्वलाई चेतावनीयुक्त सन्देश पनि प्रवाह गरेका छन् ।

कांग्रेसको यही फागुन ७ गतेदेखि सुरु भएको महासमिति बैठकमा समेत चुनावअघि गठबन्धन नगर्ने विषयले प्रवेश पाएपछि प्रचण्ड बिच्किएका छन् । सुरुदेखि नै आफूप्रति अनुदार रहँदै आएको शेखर कोइराला समूह र गगन थापाले गठबन्धनको विरोध गरेका छन् । गठबन्धन नगर्ने विषय प्रस्तावमा नराख्न सभापति देउवाले निकै जोडबल गरेका थिए ।

तर, पछि पदाधिकारी बैठकमा देउवा एक्लो भएपछि उनी महामन्त्री गगन थापाको प्रस्ताव मान्न बाध्य भएका छन् । थापाको प्रस्ताव बैठकमा जस्ताको त्यस्तै पेश भएको छ । प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको चुनावी गठबन्धनबाट आफूहरुलाई ठूलो घाटा लागेको र कांग्रेसलाई भने फाईदा पुगेको विश्लेषण गरेका छन् । ०७४ को निर्वाचनमा एमालेसँगको गठबन्धनमा ५४ सिटसहित निर्णायक तेस्रो शक्ति बनेको माओवादी ०७९ को निर्वाचनमा कांग्रेसहित पाँच दलीय गठबन्धन गर्दापनि ३२ सिटमा खुम्चिएपछि प्रचण्डले कांग्रेसबाट आफ्नो दलमा भोट नखसेको निश्कर्ष निकालेका हुन् ।

एमाले नेतृत्वले अहिले माओवादीसँग सत्ता सहकार्यको प्रस्ताव राष्टियसभाको अध्यक्षको निर्वाचनको मुखमा राखेको छ । माओवादीले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो दाबी कायम राखेको छ । यसअघि कांग्रेसलाई दिने भनेको उक्त पदमा माओवादीका अधिकांश नेताहरुले आफ्नो दलको दाबी रहने सार्वजनिक अभिव्यक्ति दिएका छन् । एमालेले माओवादीलाई राष्ट्रिय सभाको अध्यक्ष नछोड्न भनेको छ । सम्भवतः राष्ट्रिय सभाको निर्वाचनको मुखमा पारेर एमाले र माओवादीबीच नयाँ ढंगबाट सहमति हुनसक्ने आँकलन गरिएको छ ।

वामपन्थीहरुलाई एक बनाउनुपर्ने भन्दै अहिले झलनाथ खनाल, वामदेव गौतमदेखि नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसमेत कम्मर कसेर लागेका छन् । झलनाथले आजमात्रै मुलुकलाई अब नयाँ राजनीतिक कोर्समा अघि बढाउनुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उता, वामदेव त सुरुदेखि नै कम्युनिष्ट पार्टीहरुबीच एकताको पक्षमा छन् । विप्लव अहिले माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी सम्मलित समाजवादी मोर्चामा छन् ।

उनी नेतृत्वमा चक्रीय प्रणालीअनुसार अहिले मोर्चाको संयोजक बनेका छन् । विप्लवले आफू मोर्चाको संयोजक भएलगत्तै एमालेसँग पनि सहकार्य गर्नसकिने अभिव्यक्ति दिएका छन् । विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनको लागि ओलीले नै भूमिका खेलेका थिए । ओली नेकपाको शक्तिशाली सरकारको नेतृत्वमा हुँदा विप्लव नेतृत्वको नेकपासँग तीन बुँदे सहमति भएको थियो । यसले पनि विप्लव ओली र प्रचण्डबीच सहकार्य होस भन्ने चाहन्छन् । उनले यो विषयमा दुवै नेतासँग छलफल गरेको स्रोतको दाबी छ ।

एमाले र माओवादीबीच सहकार्यको लागि विप्लवपनि आँतुर छन् । प्रायः कपिलवस्तुमा कृषि क्रान्तिको लागि जग हाल्नमा व्यस्त रहने गरेका विप्लव यतिवेला काठमाडौंमा नै सक्रिय छन् । उता, नेपालका वामपन्थी शक्तिहरु एक होउन् भन्ने मित्रराष्ट चीनको पनि चाहना रहेको छ । भारतको निर्वाचनको मुखमा अहिलेको सत्ता गठबन्धन भत्काएर चीनले आफूलाई नेपालको राजनीतिमा बलियो उपस्थिति देखाउन खोजेको र सोहीअनुसार भूमिका खेलेको भनेर चर्चा पनि सुरु भएको छ ।

एमाले नेतृत्वबाट सहकार्य गर्ने भए अहिले नै गरौं र पछि समय घर्किएपछि आफूहरुले त्यसमा चासो नदिने जवाफ दिएपछि प्रचण्ड पनि बोल्ड डिसिजन लिने मुडमा पुगेका छन् । उनले अहिले कांग्रेसका नेताहरुसँग छलफल तथा भेटवार्ता भन्दापनि एमाले अध्यक्ष ओलीसँगको भेटवार्ता र छलफललाई महत्व दिन थालेका छन् ।

एमाले र माओवादी दुवै दलका दोस्रो तहका नेताहरु भने दुई दलबीच नयाँ ढंगले सहमति हुनेमा आशावादी छन् । यसपटक दुवै दलका दुई अध्यक्षबीच उच्च तहमा गम्भीर ढंगले छलफल भएकोले सहमतिको परीणाम पनि आश्चर्यजनक ढंगले आउनसक्ने ती नेताहरुको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

Array