राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेलाई मेरो खुल्ला सुझाव !

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ माघ २०८०, मंगलवार
3 Min Read
Aa

रिता खनाल

पार्टी स्थापनाको केही महिना भित्रमा नै चौथो संसदीय दलको रूपमा स्थापित पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला पूर्वाधार निर्माण कार्यका लागि दबाब सृजना गर्न भन्दै सेतो हात्तीमा परिणत भएको मेलम्ची खानेपानी आयोजनाबाट दबाब कार्यक्रमको सुरुवात गरिरहेको छ ।

तर, यो भन्दा पनि अझै महत्त्वपूर्ण विषयहरूलाई प्राथमिकतामा राख्न पर्ने विषय हरूलाई म बुँदागत रूपमा सुझाव दिन चाहान्छु ।

१. देशका कैयौं नागरिक यतिबेला सहकारी ठगीले पीडित छन्, सूर्यदर्शन लगायतका करिब आधा दर्जन सहकारीमा स्वयं रवि लामिछाने मुछिएका छन् त्यसैले यी सहकारी ठगीको मुख्य अभियुक्त जिबी राईलाई पक्राउ गरेर कानुनी कार्वाही गराउने काम पहिलो प्राथमिकता राखोस भन्ने हामी आम नागरिकको अपेक्षा हो ।

२. देशको करिब ३ खर्बको सम्पत्ति जुन अबको ५ वर्षपछि स्वत राज्यको हुने प्रक्रियामा रहेको एनसेल ठगी प्रकरणमा खर्बौं मूल्यको एनसेल करिब ६ अर्बमा बिक्री गरि राज्य र जनता ठग्ने काम भएको छ त्यसका विरुद्ध हामी जस्ता नागरिकको समेत साथ लिएर सिंहदरबार र बालुवाटार घेर्ने दबाब अभियान सञ्चालन गर्नुपर्नेमा त्यो किन हुन सकेन ? मिसन ८४ का नाममा देशको बागडोर सम्हाल्ने पार्टीले यसको जवाफ दिनुपर्छ ।

३. नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीका भाई अरुण चौधरीलाई बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा निजि बनाएको आरोपमा पक्राउ गरेको छ भने अनुसन्धान नसकिंदै बुधबारसम्म अनुसन्धान नसकिए छोड्न अदालतले समेत आदेश दिएको परिस्थितिमा भाई अरुणलाई होइन उनका दाई विनोदमाथि छानबिन गर भनेर दबाब दिनुपर्ने दायित्व रास्वपाको हो कि होइन ?

४. ललिता निवास जग्गा ठगी प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरणको जरासम्म सरकार किन पुगेन ? आरोपितहरूलाई किन सौदाबाजीमा थुनामुक्त गरियो भनेर दबाब सिर्जना गर्नुपर्ने दायित्वबाट किन पन्छियो ? यसको यथोचित जवाफ रास्वपाले दिनुपर्छ ।

५. रसिया र युक्रेनमा नेपाली नागरिकलाई मानवढाल बनाएर जबर्जस्ती मानवढाल बनाएर मृत्युको मुखमा घचेटीरहेको छ ती नागरिकको चीत्कार सुन्न सरकारलाई बाध्य बनाएर ती नागरिकको तुरुन्त उद्दार गरेर स्वदेश फिर्ता गर्ने कामको अगुवाई गर्नुपर्ने दायित्व र जिम्मेवारीबाट रास्वपा किन भाग्यो ?

६. जाजरकोट र रुकुम पश्चिम लगायत देशको पश्चिमी क्षेत्रमा आएको विनाशकारी भूकम्पका कारण पीडितहरू अहिलेसम्म पनि खुल्ला आकाशमुनि बस्न बाध्य हुँदा चिसोकै कारण दर्जनौं नागरिकले ज्यान गुमाउनु परेको तितो यथार्थलाई मध्यनजर गर्दै उनिहरूला व्यवस्थित तथा सुरक्षीत आवासको व्यवस्था मिलाउन सरकारलाई दबाब दिने कामबाट रास्वपा किन भाग्यो ?

माथि उल्लेख भएका भन्दा बाहेक पनि देशमा अनगिन्ती भ्रष्टाचार र अनियमितताका चाङ हुँदाहुँदै पनि ती किन रास्वपाको प्राथमिकतामा पर्न सकेनन् ? सस्तो लोकप्रियताकै लागि मात्रै भन्दा पनि नितिगत, संस्थागत भ्रष्टाचारका विरुद्ध प्राथमिकताको आधारमा साँच्चिकै दबाब सिर्जना गर्नुहोस् नकि दबाबका नाममा स्टन्ट मात्रै गर्नुहोस् भन्ने सार्वजनिक सुझाव नागरिकको तर्फबाट दिन चाहान्छु ।

(लेखिका खनाल राजनीतिक र समसामयिक विषयमा आफ्नो प्रष्ट धारणा राख्दै आएकी सामाजिक अभियान्ता हुन् )

प्रतिक्रिया दिनुहोस्

Array