कोशीमा धोकाः कांग्रेस–माओवादी सम्बन्ध ‘चिसियो’

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ माघ २०८०, आईतवार
3 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय सभा सदस्यको बिहीबार सम्पन्न चुनावमा कोशी प्रदेशको परिणामलाई लिएर सत्ता गठबन्धनभित्रै संशय उत्पन्न भएको छ । कांग्रेसभित्रको अन्तरविरोधले कोशीमा बारम्बार ‘धोका’ पाएको भन्दै माओवादीका केही नेताले सत्ता गठबन्धनमा नै पुनर्विचार गर्नुपर्नेसम्मको अभिव्यक्ति दिइरहेका छन् । गठबन्धनको मुख्य घटक कांग्रेसका नेताहरूले भने कोशीलाई देखाएर माओवादीले सत्तामा थप ‘बार्गेनिङ’ बढाउन खोजेको आशंका गरेका छन् ।

राष्ट्रिय सभाको १९ सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनले सातवटै प्रदेशमा साझा उम्मेदवार अघि सारेको थियो । ६ वटा प्रदेशको नतिजा सत्ता गठबन्धनको पक्षमा आए पनि कोशीमा भने माओवादी उम्मेदवार पराजित भएपछि गठबन्धनभित्र चिसो पसेको हो । कोशीबाट कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले चुनाव जित्दा माओवादी नेतृ चम्पादेवी कार्की एमालेकी उम्मेदवार रुक्मिणी कोइरालासँग हार्न पुगेकी थिइन् । यस्तो परिणाम आउनुमा माओवादी नेताहरू कांग्रेसभित्रको अन्तरकलह मुख्य कारण रहेको ठान्छन् ।

कांग्रेस नेता शेखर कोइराला भने यसलाई मान्न तयार छैनन् । माओवादीलाई कांग्रेसबाट नभएर अन्यत्रबाटै धोकाधडी भएको हुन सक्ने उनको बुझाइ छ । ‘गठबन्धनप्रति कांग्रेसलाई कुनै संशय छैन । कोशीकै कारणले यो गठबन्धन टुट्छ भन्ने एक प्रतिशत पनि लाग्दैन । तर, माओवादीभित्र एकथरी नेताहरू हिजोदेखि नै एमालेसँग मिल्नुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो । मिलाउन खोज्ने विभिन्न फ्याक्टरहरू सक्रिय थिए,छन्,’ कोइरालाले भने, ‘अहिले पनि कोशीलाई देखाएर त्यस्तै प्रयास भएको पनि हुन सक्छ । तर मैले बुझेसम्म गठबन्धन दायाँबायाँ होला भन्ने लाग्दैन ।’

कोशीमा माओवादीले कांग्रेसबाट बारम्बार धोका खाएको भन्दै माओवादीका उपमहासचिव वर्षमान पुनले कांग्रेससँगको गठबन्धनमै पुनर्विचार गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । गृहजिल्ला रोल्पामा पार्टीबाट निर्वाचित जनप्रतिनिधिसँगको प्रशिक्षणमा पुनले हरेक पटकका निर्वाचनमा माओवादीले इमानदारिताका साथ मत दिने तर कांग्रेसबाट धोका खाने क्रम दोहोरिँदै आएको बताएका छन् ।

‘कोशी प्रदेशको राष्ट्रिय सभा निर्वाचन परिणामले राजनीतिमा नयाँ मोड आएको छ । कांग्रेससँग गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा पुगेका छौं,’ पुन भन्छन्, ‘यसअघि विभिन्न प्रकरणमा कांग्रेस नेतृत्वले पार्टीभित्रको गुटबन्दी र शक्ति संघर्षलाई कारण देखाउँदै आए पनि अब यतिले मात्रै पुग्दैन ।’

कोशीको गठबन्धनबाट हात झिक्नुपर्ने दबाब पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई रहेको एक नेताले बताए । ‘केन्द्रीय गठबन्धनका बारेमा छलफल गर्दै जाउँला तर कोशी सरकारमा अब कांग्रेससँग गठबन्धन गरेर जान सकिन्न भन्नेमा माओवादीका खासगरी प्रदेशस्तरका नेताहरूको अध्यक्ष दाहाललाई बढी नै दबाब छ,’ ती नेताले भने ।

केही महिनाअघि मात्रै कोशी प्रदेशमा कांग्रेसभित्रको ‘विद्रोह’ को कारण माओवादी मुख्यमन्त्री पाउनबाट वञ्चित भएको थियो । त्यसअघि कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकारको पक्षमा संसदीय अंकगणित पुर्‍याउन बाबुराम गौतमले सभामुखबाटै राजीनामा दिएका थिए । अनिच्छा हुँदाहुँदै पनि गौतमले प्रधानमन्त्री दाहालको निर्देशनमा राजीनामा दिएका थिए । त्यति गर्दा पनि थापा नेतृत्वको सरकार कायम राख्न दुई–दुई पटकको जोडबल काम नलागेपछि उनी सरकारबाट हटे । तेस्रो चरणमा गठबन्धनको केन्द्रीय बैठकले नै माओवादीका कोशी प्रदेशका संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

कांग्रेस नेता शेखर कोइराला पक्षका ८ जना सांसदले पार्टीबाटै ‘विद्रोह गरेर’ एमालेको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेका थिए । कोशीमा माओवादीले मुख्यमन्त्री, सभामुख मात्रै नभएर अहिले राष्ट्रिय सभा सदस्यसमेत कांग्रेसका कारणले गुमाएको भन्दै कांग्रेससँगको गठबन्धनप्रति माओवादीको संशय बढेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

Array