राष्ट्रिय सभा निर्वाचनः एमाले देखाएर गठबन्धन दलमा कांग्रेसको बार्गेनिङ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ पुष २०८०, सोमबार
2 Min Read
Aa

काठमाडौं – सत्तारुढ दलहरुले आसन्न राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेरै जाने भएका छन् । २०७९ मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टीले राष्ट्रिय सभा निर्वाचनमा पनि गठबन्धन नीतिलाई निरन्तता दिने निश्चित भएको छ ।

तत्कालीन प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गरेपछि एमालेलाई संविधान विरोधी शक्तिको रुपमा अलग्याएर माओवादी कांग्रेस मिलेका थिए । त्यसपछिका निर्वाचनहरुमा माओवादी–कांग्रेसबीच सहकार्यसमेत हुँदै आएको छ । तर, एमालेलाई संविधान विरोधी शक्तिको कित्तामा राखेका माओवादी– कांग्रेसले उसैलाई बार्गेनिङ टुल्स बनाइरहेका छन् ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये प्रत्यक्षतर्फ १९ सिटमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा संसद्को सबैभन्दा ठूला दलको हैसियतमा रहेको कांग्रेसले सबैभन्दा बढि सिट दाबी गरिरहेको छ । निर्वाचन हुने १९ सिटमध्ये ९ सिटमा कांग्रेसको दाबी रहेको छ । तर, कांग्रेसलाई एमालेले ११ सिटको अफर गरेको बताइएको छ । स्रोतका अनुसार कांग्रेसले माओवादीसँगको गठबन्धन तोडेर आए एमाले हदैसम्म त्याग गर्न तयार रहेको छ । वर्तमान सरकारले आफ्नो एक वर्षे कार्यकाल पूरा गरेको छ । सत्तारुढ दलबीच भएको सहमतिबमोजिम अब एक वर्षपछि कांग्रेसले प्रधानमन्त्री पाउने छ । कांग्रेसले अहिलेनै माओवादीसँगको गठबन्धन तोडेर एमालेसँग मिल्ने सम्भावना नभएपनि राष्ट्रिय सभा सदस्य निर्वाचनमा गतिलो बार्गेनिङ टुल्स बनाएको छ ।

त्यस्तै, माओवादी केन्द्रले ५ सिट, नेकपा (एस) ले तीन सिट र जसपा, जनमत र नाउपाले १/१ सिटमा दाबी गरेका छन् । यसरी सबै दललाई मिलाएर जाँदा माओवादीले कम सिट पाउने र कांग्रेसले एमाले देखाएर दाबीबमोजिमको सिट लिने देखिएको छ । यदि एमाले र कांग्रेस मिलेको खण्डमा माओवादी लगायत अन्य दलको एक सिट पनि नआउने निश्चित छ ।

सत्ता गठबन्धनमा रहेका दलबीच कुनै नाटकीय परिवर्तन भएको खण्डमा बाहेक एमालेलाई यो राष्ट्रिय सभा निर्वाचन पनि चुनौतिपूर्ण हुने निश्चित छ । यसअघि २०७८ माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा १९ मध्ये १८ सिटमा गठबन्धनमा आबद्ध दलका उम्मेदवार विजयी भएका थिए । कोशी प्रदेशमा भने एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएका थिए । शेर्पा विजयीसँगै एमाले ‘क्लिनस्विप’ हुनबाट जोगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array