सुदूरपश्चिममै डा. गोविन्द केसीको विरोध, जनभावना विपरीत गएको आरोप

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३० मंसिर २०८०, शनिबार
2 Min Read
Aa

धनगढी – पटक–पटक अनसन बसेर चर्चामा आउने गरेका डा. गोविन्द केसीको विरोध भएको छ । अनसनका लागि सुदूरपश्चिम प्रदेशको धनगढी पुगेका डा. केसीको विरोधमा शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरेको छ ।

डा. केसीले प्रस्तावित विश्वविद्यालयमा नै अनसन बस्न खोजे पनि प्रदेशवासीको माग विपरीत देखिएकाले अनसन बस्न नदिएको समितिले जनाएको छ । संघर्ष समितिले अवरोध गरेको भन्दै डा. केसीले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन थालेका छन् ।

संघर्ष समितिले गेटामा ६०० शय्याको अस्पतालसहित विश्वविद्यालय निर्माण गर्नुपर्ने प्रदेशवासीको माग विपरीत डा. केसीले स्वास्थ्य प्रतिष्ठानको मुद्दा उठाएकाले अनसन बस्न नदिएको समितिले जनाएको छ ।

संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले डा. केसी प्रदेशवासीको भावना र संघर्ष समितिको आन्दोलनको मर्म विपरीत आएकाले अनसन बस्न नदिएको स्पष्ट पारे । उनले भने, ‘लामो समयदेखि मेडिकल विश्वविद्यालय चाहियो भनेर यहाँका जनता संघर्ष गरिरहेका छन् । अहिले आएर उहाँले प्रतिष्ठान वा अन्य कुुनै अन्य ढंगले अघि बढाउनुपर्छ भनेपछि जनभावना र हाम्रो आन्दोलनको मर्म विपरीत गएकाले त्यहाँ अनसन बस्न नदिएकै हो । मोडालिटीको विषय उठाउनु भनेको विश्वविद्यालयको मुद्दालाई विषयान्तर गर्ने काम हो । प्रदेशवासीको भावना विपरीत अरुको इशारामा बोल्ने छुट केसी मात्र होइन, कसैलाई पनि छैन ।’

संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ले डा. केसीलाई ६०० शय्याको अस्पताल सहितको मेडिकल विश्वविद्यालयको मागलाई समेट्न आग्रह गर्दा विश्वविद्यालयको पक्षधर होइन भनेपछि गेटामा अनसन बस्न नदिएको बताए ।

डा. केसीले मेडिकल विश्वविद्यालयको मागभन्दा बाहिर गएर प्रतिष्ठानको कुरा उठाएको भन्दै अनसनको विरोधमा धनगढी प्रदर्शन समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array