बढ्दो ‘चिसो’ लाई देखाउँदै महासमिति बैठक सार्ने मुडमा देउवा, प्रतिवाद गर्ने इतर समूहको चेतावनी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २४ मंसिर २०८०, आईतवार
2 Min Read
Aa
प्रधानमन्त्री शेर बहादुर देउवा

काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठक निर्धारित मितिमा नहुने सम्भावना बढ्दै गएको छ । पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अघिल्लो केन्द्रीय कार्यसमितिको बैठकमा नै पुस १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने टुंगो लागेको महासमिति बैठक सार्नुपर्ने धारण राखेका थिए ।

कांग्रेसले यसअघि मंसिर १३ देखि १५ गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको थियो । तर, पछि समय अभाव भन्दै मंसिर २९ देखि २ पुस सम्मको मिति तय गरेको कांग्रेसले कार्तिक १७ मा जाजरको केन्द्र भएर गएको भूकम्पलाई देखाउँदै बैठक पछि धकेलेको थियो ।

सभापति देउवाले अब फागुनमा महासमिति बैठक सार्ने तयारी गरेको कांग्रेस निकट स्रोतले जनाएको छ । महासमिति बैठकको नयाँ मिति तय गर्न र राष्ट्रिय सभा चुनावका लागि दल दर्तालगायत प्रक्रिया अघि बढाउन सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइसकेका छन्।

तर, सभापति देउवाको उक्त प्रस्तावलाई महामन्त्रीद्धय गगन थापा । र विश्वप्रकाश शर्मासँगै संस्थापन इतर समूहका नेताहरुले भने अस्वीकार गरेका छन् । उनीहरुले तोकिएकै समयमा महासमिति बैठक गर्नुपर्ने भन्दै प्रतिवाद गरेको एक नेताले जानकारी दिए ।

कांग्रेसले महासमिति बैठकका लागि सभापति देउवाको नेतृत्वमा मूल आयोजक समिति, उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नीति निर्माण समिति, महामन्त्री थापाको नेतृत्वमा सांगठानिक प्रतिवेदन र महामन्त्री शर्माको नेतृत्वमा समसामयिक राजनीतिक प्रस्ताव समिति गठन गरेको थियो।

कांग्रेसभित्र महासमिति बैठकलाई नीति अधिवेशन पनि भन्ने गरिएको छ । महासमिति बैठकका लागि देशभर महासमिति सदस्य चयनका लागि निर्वाचन भइरहेको छ । अझै केही निर्वाचन क्षेत्रमा निर्वाचन गर्न बाँकी रहेको छ ।

१६५ निर्वाचन क्षेत्रबाट ११ जनाका दरले १८१५ जना महासमिति सदस्य आउने व्यवस्था छ। केन्द्रीय सदस्यहरू, पूर्वकेन्द्रीय सदस्य, प्रवास, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाबाट पनि महासमिति सदस्य आउने विधानको व्यवस्था छ। २ हजार तीन सय जना हाराहारी महासमिति बैठकमा सहभागी हुने कांग्रेसको आंकलन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array