एनसेल खरिदविक्रीबारे सरकारी समितिले गर्ने अध्ययन नाटक मात्र: रवि लामिछाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० मंसिर २०८०, बुधबार
2 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदविक्री प्रकरणमा सरकारले समिति बनाएर अध्ययन गर्ने कुरा बेकारको नाटकमात्र भएको आरोप लगाएका छन्। बुधवार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग उनले यस्तो आरोप लगाएका हुन्। उनले एनसेलमा गैरकानूनी काम भएको भए तत्काल कारबाही गर्नुपर्ने बताए ।

उनले एनसेल प्रकरणमा कैयौँ राजनीतिक दलहरुको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गरे। उनले एनसेलले कर नतिरेको भए तत्काल कारबाही गर्नुपर्ने बताए।

उनले गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने नभइ कर छल्ने मानिसलाई पक्राउ गर्नुपर्ने चुनौती दिए। उनले करछलीलगायतका विभिन्न गैरकानूनी काममा वृहत अनुसन्धान गर्नुपर्ने पनि बताए।

उनले एनसेल खरिदविक्री प्रकरणबारे अर्थमन्त्री डा. प्रकाशशरण महतले दिएको अभिव्यक्ति प्रतिक्रिया दिनलायक पनि नभएको बताए।

‘एनसेल प्रकरणमा कैयौँ राजनीतिक दलहरुको संलग्नता हुनसक्छ‚ त्यहाँ कैयौँ कुरा हुनसक्छ। त्यो छानबिनको विषय हो तर अहिले जुन खरिदविक्री भएको छ, भएको हो की होइन? होइन भने किन बबाल गरेको? हो रहेछ भने सरकारले त्यसवापत प्राप्त गर्नुपर्ने कर रकम पायो कि पाएन? पाएको छैन भने त्यो गैरकानूनी हो कि होइन‚’ उनले भने‚ ‘गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने कि कर छल्ने मानिसलाई गएर समात्ने हो? यो बेकारको नाटक हो। कर छलीसकेपछि कारबाही हुनुपर्छ, केको लागि यो समिति? वृहत छानबिन शुरुवातदेखि आजसम्मको गरौँ तर तत्काल कारबाही हुनपर्छ, कर छली भएको हो भने। अर्थमन्त्रीले थाहा छैन भन्नुभयो, योभन्दा लाजमर्दो कुरा अरु के हुन्छ? अर्थमन्त्रीको अभिव्यक्ति प्रतिक्रिया दिनलायक पनि छैन।’

रास्वपाको सचिवालय बैठकले प्रवास नेपाली सम्पर्क विभागको कार्यविधि पास गरेको छ। रास्वपाले नयाँ चयन भएका केन्द्रीय सदस्यहरुलाई आज शपथग्रहणसमेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

Array