विश्वकप क्रिकेटको फाइनलमा उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै: कस्ले मार्ला बाजी ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ मंसिर २०८०, आईतवार
4 Min Read
Aa

काठमाण्डौ – आइसीसी क्रिकेट विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलियाबीच भिडन्त हुदैछन् । फाइनल खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि शुरु हुदैछ ।

यस विश्वकपमा अपराजित रहदै भारत फाइनलमा पुगेको हो । भारत चौथो पटक एकदिवसीय विश्वकपको फाइनल खेल्दै छ । यसअघि १९८३ र २०११ को विश्वकपको उपाधि जितेको थियो भने २००३ मा विश्वकपको फाइनलमा अस्ट्रेलियासँग नै पराजित भएको थियो ।

त्यसैगरी अस्ट्रेलिया भने यस विश्वकपमा शुरुका दुई खेलमा हार बेहोरेपछि पछिल्ला आठ खेलमा अपराजित हुदै फाइनलमा पुगेको हो । त्यस्तै अस्ट्रेलिया भने आठौँ पटक विश्वकपको फाइनल खेल्दै छ । अस्ट्रेलियाले आठ वर्षपछि विश्वकपको फाइनल खेल्ने भएको छ । सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको अस्ट्रेलियाले सन् १९७५ र १९९६ को फाइनलमा हार बेहोरेको थियो । त्यस्तै अस्ट्रेलिया २०१९ को विश्वकपमा भने सेमिफाइनलमा ईङल्याण्डसँग पराजित भएर बाहिरिएको थियो ।

२००३ र २०२३ विश्वकपका संयोग

सन् २००३ को विश्वकपमा अस्ट्रेलियाली टोली च्याम्पियन बन्दा सबै ११ खेल जितेको थियो । फाइनलमा भारतलाई हराउनुअघि अस्ट्रेलियाले समूह चरणमा पनि भारतलाई हराएको थियो। त्यसपछि भारतीय टोलीले कुल आठ खेल जितेको थियो । अब २०२३ को विश्वकपको कुरा गर्ने हो भने भारतीय टोली लगातार १० खेल जितेर फाइनलमा पुगेको छ र उसको नजर अब ११ औं जित हासिल गर्दै उपाधि जित्नेमा छ । भारतले समूह चरणमा अस्ट्रेलियालाई हराएको थियो र अब फाइनलमा पनि पराजित गर्ने अवसर छ । अष्ट्रेलियाको टोली यस प्रतियोगितामा कुल आठ खेल जितेर फाइनलमा पुगेको छ ।

आइसीसी प्रतियोगिताको नकआउट चरणमा हेड टू हेड:

आईसीसी प्रतियोगिताको नकआउट चरणमा भारत र अस्ट्रेलियाबीचको यो आठौं भेट हुनेछ । अर्थात् अहिलेसम्म ७ पटक आइसीसीका नकआउट चरणमा यी दुई देशबीच भिडन्त भएको छ । यी दुईबीच एकदिवसीय विश्वकपमा चौथो नकआउट खेल हुनेछ । यसबाहेक टी–२० विश्वकपमा एक, च्याम्पियन्स ट्रफीमा २ र विश्व टेस्ट च्याम्पियनसिपमा एक भिडन्त भइसकेको छ ।

यी दुईबीच आइसीसीको नकआउट चरणमा पहिलो पटक सन् १९९८ को च्याम्पियन्स ट्रफी क्वाटरफाइनलमा भिडन्त भएको थियो । जुन खेल भारतले ४४ रनले जितेको थियो । भारतले दिएको ३०८ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले २६३ रन बनाएर अल आउट भएको थियो ।

त्यसपछि सन् २००० को च्याम्पियन्स ट्रफी क्वाटरफाइनलमा दोस्रो पटक भिडन्त भएको थियो । सो खेलमा भारत २० रनले विजयी भएको थियो । भारतले दिएको २६६ रनको लक्ष्य पछाएको अस्ट्रेलिया २४५ रन बनाउदा अल आउट भएको थियो ।

त्यसपछि तेस्रो पटक २००३ को विश्वकप फाइनलमा भारत र अस्ट्रेलियाबीच भिडन्त भएको थियो । सो फाइनलमा अस्ट्रेलियाले दिएको ३६० रनको लक्ष्य पछाएको भारत २३४ रन बनाएर अलआउट भएको थियो र खेल अस्ट्रेलियाले १२५ रनले जितेको थियो ।

त्यसपछि आइसीसीको प्रतियोगिताको नकआउट चरणमा चौथो पटक २००७ को टी-२० विश्वकपको सेमिफाइनलमा भिडन्त भएको थियो । सो खेल भारतले १५ रनले जितेको थियो । भारतले दिएको १८९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १७३ रन मात्र बनाएपछि भारत विजयी भएको थियो ।

त्यसपछि पाँचौं पटक २०११ को विश्वकप क्वाटरफाइनलमा भिडन्त भएको थियो । यस खेलमा भारत ५ विकेटले विजयी भएको थियो । अस्ट्रेलियाले दिएको २६१ रनको लक्ष्य भारतले ५ विकेट गुमाएर पुरा गरेको थियो ।

यसपछि २०१५ को विश्वकप सेमिफाइनलमा भारत र अस्ट्रेलिया भिडेका थिए । सो खेलमा अस्ट्रेलिया ९५ रनले विजयी भएको थियो । अस्ट्रेलियाले दिएको ३२९ रनको लक्ष्य पछाएको भारत २३३ रनमा अलआउट भएको थियो ।

त्यसपछि २०२३ को टेस्ट च्याम्पियनसिपमा फेरी एक पटक भारत र अस्ट्रेलिया आमने सामने भएका थिए । सो खेल अस्ट्रेलियाले २०९ रनले जितेको थियो ।

यसरी आइसीसीका नकआउट प्रतियोगितामा यी दुई देशबीच रोचक ७ भिडन्त भएका छन् । जसमा भारत ४ पटक र अस्ट्रेलिया ३ पटक विजयी भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array