विश्वकप छनोटमा यूएईसँग नेपाल फराकिलो अन्तरले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ मंसिर २०८०, शुक्रबार
2 Min Read
Aa

काठमाण्डौ – फिफा विश्वकप २०२६ र एएफसी एसिया कप २०२७ को छनोट खेलमा नेपाली राष्ट्रिय फुटबल टोली संयुक्त अरब इमिरेन्ट्स (यूएई) सँग पराजित भएको छ। बिहीबार राति दुबईको अल मक्तुम स्टेडियममा भएको खेलमा नेपाल यूएईसँग ४–० को फराकिलो अन्तरमा पराजित भएको हो।

युएईको जितमा अलि अहमद मबखोटले दुई तथा खालिफा मुबारक अल्हाम्माडी, फाबियो भर्जिनियो लिमाले समान एकएक गोल गरे। पहिलो हाफको १० औं मिनेटमा नै नेपाल घरेलु टोलीविरुद्ध पछि परेको थियो। युएईका लागि खालिफा मुबारक अल्हाम्माडीले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

- Advertisement -
Ad imageAd image

खेलको ३६औं मिनेटमा यूएईका लागि कप्तान अहमद मबखोटले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे। खेलको ४४औं मिनेटमा मबखोटले नै यूएईको लागि व्यक्तीगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे।

पहिलो हाफको इन्ज्युरी समयमा फाबियो भर्जिनियो लिमाको गोलमा युएईले ४–० को फराकिलो अग्रता बनायो। पहिलो हाफमा नै ४–० ले पछि परेको नेपालले दोस्रो हाफमा केही सुधारिएको प्रर्दशन गरेको थियो। खेलको दोस्रो हाफमा केही आक्रमण बनाएको नेपालले गोल निकाल्न भने सकेन।

यूएईसँगको हारसँगै नेपालले विश्वकप छनोटको दोस्रो चरण हारबाट सुरुआत गरेको छ। नेपाली टोली शुक्रबार राति नै स्वदेश फर्कदैछ। नेपली टोली शुक्रबार राति पौने १२ बजे नेपाल आइपुग्नेछ। छनोटको दोस्रो खेलमा नेपालले मंसिर ५ गते यमनसँग खेल्ने तालिका छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राति ७ बजे सुरु हुनेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्