नेपाल टी-२० विश्वकपमा छनोट, युएई ८ विकेटले पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ कार्तिक २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – नेपाल टी-२० विश्वकपमा छनोट भएको छ। मूलपानी मैदानमा भएको छनोट खेलको सेमिफाइनलमा युएइलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो।

सेमिफाइनलमा युएइले नेपाललाई जितका लागि १३५ रनको लक्ष्य दिएको थियो। नेपालले १७ बल बाँकी छँदै केवल २ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो।

- Advertisement -
Ad image

यससँगै अब नेपाल २०२४ मा अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकप खेल्न पाउने भएको छ। आजै कीर्तिपुरमा भएको अर्को सेमिफाइनल जित्दै ओमन पनि विश्वकपमा छनोट भएको छ।

युएइले दिएको १३५ रनको लक्ष्य हासिल गर्ने क्रममा नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ६३ रन बनाए। ६ चौका र २ छक्का हानेका उनी अन्तिमसम्म नटआउट रहे।

कप्तान रोहित पौडेलले नटआउट ३५ रन बनाए। गुलशन झाले २२ र कुशल भुर्तेलले ११ रन बनाए। युएइका लागि निलांश केसवानी र बसिल हमिदले १-१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएइले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३४ रन बनाएको थियो।

युएइका लागि वृत्या अरविन्दले सर्वाधिक ६४ रन बनाए। कप्तान मुहम्मद वसीमले २६, अलीसान सफारुले १६ र आसिफ खानले १३ रन बनाए। अरु कसैले पनि दोहोरो अंकमा स्कोर गर्न सकेनन्।

नेपालका लागि कुशल मल्लले ३ विकेट लिए। सन्दीप लामिछानेले २ विकेट तथा सोमपाल कामी र रोहित पौडेलले १-१ विकेट लिए।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्