टी-२० विश्वकप एसिया छनोट: समूह विजेताका लागि नेपाल र ओमान भिड्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ कार्तिक २०८०, बिहीबार
2 Min Read
Aa

काठमाण्डौ – घरेलु टोली नेपालले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा बिहीबार ओमानसँग खेल्दैछ। एक खेल अगावै सेमिफाइनल पुगेका दुवै टिम समूह विजेताका लागि प्रतिस्पर्धा गर्दैछन्। खेल टियू मैदान कीर्तिपुरमा बिहान ९ बजे सुरु हुनेछ।

दुवै टिमको समान दुई जितसँगै ४ अंक भएपनि ओमान नेटरनरेटका कारण शीर्षस्थानमा छ। यद्यपि आज जित्ने टिम समूह विजेता बन्नेछ। समूह विजेताले समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल शुक्रबार खेल्ने छ।

- Advertisement -
Ad imageAd image

त्यस्तै, समूह ‘ए’को अन्तिम खेलमा सिंगापुर र मलेसियाबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ। यो खेल प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ। तर मुलपानीमा आज हुने दुवै खेल निकै महत्वपूर्ण हुनेछन्। पहिलो खेलमा युएई र हङकङबीच प्रतिस्पर्धा हुनेछ।

बहराइनसँग हारेको हङकङलाई सेमिफाइनल खेल्न युएईलाई हराउनुपर्ने हुन्छ। उता, सुरुवाती दुई खेल जितेको युएईलाई जित वा झिनो अन्तरको हार सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछ।

दोस्रो खेलमा बहराइन र कुवेत भिड्ने छन्। पहिलो खेलमा हङकङ पराजित भएमा बहराइनलाई जित पर्याप्त हुनेछ। तर हङकङ विजयी भएको खण्डमा बहराइनको नेट रनरेटको आधारमा सेमिफाइनल तय हुनेछ।

हेड टु हेडमा नेपाल बलियो

टी-२० अन्तराष्ट्रियमा ओमानसँग नेपाल बलियो रहँदै आएको छ। अहिलेसम्म नेपालले ओमानसँग चार खेल खेल्दा तीन खेलमा नेपाल विजयी भएको छ। ओमानले एक खेल जितेको छ। २०२२ मा भएको तीन खेलमा सबे खेल नेपालले जितेको थियो।

गत वर्ष पनि आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटको समूह ‘ए’ मा यी दुई टोली एकै समूहमा परेका थिए। जहाँ नेपालले समूह चरणको खेलमा ओमानलाई ३९ रनले पराजित गरेको थियो। तर, दुवै टोली सेमिफाइनलमा पराजित हुँदै विश्वकपमा छनोट हुन सकेनन् र तेस्रो स्थानको लागि पुनस् खेल भएको थियो। त्यसमा नेपालले ओमानलाई ९ विकेटले सहजै हराएको थियो।

विश्वकप छनोटअघि भएको चारदेशीय टी- २० सिरिजमा पनि यी दुई टोलीबीच भेट हुँदा नेपाल ६ विकेटले विजयी भएको थियो। नेपाल २०१९ मा ओमानमा भएको पाँच देश सम्मिलित पेन्टागुलर टी-२० सिरिजमा ओमानसँग ६ विकेटले पराजित भएको एकमात्र हार हो।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्