एकदिवसीय विश्वकपमा कीर्तिमानी स्कोर बनाएको दक्षिण अफ्रिकाद्वारा श्रीलंका पराजित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ आश्विन २०८०, आईतवार
3 Min Read
Aa

काठमाण्डौ – एकदिवसीय विश्वकपमा कीर्तिमानी स्कोर बनाएको दक्षिण अफ्रिकाले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १ सय २ रनले पराजित गरेको छ।

एकदिवसीय विश्वकपमा इतिहासकै उच्च रनको स्कोर तयार गरेको दक्षिण अफ्रिका विरुद्ध श्रीलंकाले राम्रो प्रदर्शन गरे पनि विकेट जोगाउन नसक्दा फराकिलो हार टार्न सकेन।

दक्षिण अफ्रिकाले श्रीलंकालाई जितका लागि ४ सय २९ रनको लक्ष्य दिएको थियो। टिमले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ५ विकेट गुमाएर ४ सय २८ रनको स्कोर तयार गर्दै एकदिवसीय विश्वकपमा कीर्तिमानी स्कोर बनायो।

यसअघि विश्वकपमा उच्च स्कोरको रूपमा अस्ट्रेलियाले अफगानिस्तान विरुद्ध २०१५ मा पर्थमा ४ सय १७ रन बनाएको थियो।

एकदिवसीय विश्वकपमा पाँचौं पटक ४ सय रनको स्कोर पुरा भएको हो। यसअघि अस्ट्रेलिया र इन्डियाले १-१ पटक ४ सय रनको स्कोर पुरा गर्दा दक्षिण अफ्रिकाको भने यो तेस्रो पटक ४ सय रनको आँकडा पुरा गरेको हो।

यसअघि उसले २०१५ आयरल्यान्ड र वेस्ट इन्डिज विरुद्ध ४ सय रनको आँकडा पुरा गरेको थियो। भारतले भने २००७ मा बर्मुडा विरुद्ध ४ सय १३ रनको स्कोर बनाएको थियो।

शनिबार दिल्लीको अरुण जेट्ली क्रिकट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि तीन खेलाडीले शतकीय इनिङ खेले विश्वकपमा एकै इनिङमा तीन शतक प्रहार भएको यो पहिलो पटक हो।

त्यस्तै, दक्षिण अफ्रिकाका एडन माक्रमले प्रतियोगिताको इतिहासमा सर्वाधिक चाँडो शतक प्रहार गरे। उनले ४९ बलमा शतक प्रहार गरे। एडनबाहेक रासी वान डर डसनले १०८ रनको इनिङ खेल्दा क्विन्टन डिककले १०० रनको शतकीय इनिङ खेले।

मारक्रमले एकदिवसीय विश्वकपको इतिहासमा ४९ बलमै शतक प्रहार गरे। उनले ५४ बलमा १४ चौका र ३ छक्काको सहयोगमा १०६ रन बनाएका थिए। उनको यो एकदिवसीय करिअरको तेस्रो शतक हो।

त्यस्तै, क्विन्टन डिककले ८४ बलमा १२ चौका र ३ छक्काको सहयोगमा १०० रन बनाउँदै करिअरको १८ औं एकदिवसीय शतक प्रहार गरे।

रसी भान डेर डुसेनले ११० बलमा १३ चौका र २ छक्काको सहयोगमा १०८ रन बनाउँदै करिअरको ५ औं शतक प्रहार गरे। त्यस्तै, हेनरिच क्लासेनले ३२ रन बनाउँदा डेभिड मिलर ३९ र मार्को जनसेन १२ रनमा अविजित रहे। श्रीलंकाका लागि कसुन रजिथाले १ तथा दिसन मधुसंकाले २ विकेट लिए।

जवाफमा श्रीलंका ४४.५ ओभरमा ३ सय २६ रनमा समेटियो। श्रीलंकाका तीन खेलाडीले अर्धशतक बनाएपनि टिमको हार टार्न पर्याप्त भएन। श्रीलंकाका लागि कुशल मेन्डीसले ७६ रन बनाउँदा चरिथा असलन्काले ७९ रन बनाए।

त्यस्तै, कप्तान दशुन सनाकाले ६८ रन बनाएका थिए। कुशन रजिथा ३३ रन बनाएर आउट भए। दक्षिण अफ्रिकाका लागि जेराल्ड कोड्जीले ३ विकेट लिँदा मार्को जेनसेन, कागिसो रबडा र केशभ महाराजले २-२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

Array