एसियाकप क्रिकेट: पाकिस्तानमाथि भारतको फराकिलो जित

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ भाद्र २०८०, मंगलवार
3 Min Read
Aa

काठमाण्डौ – एसियाकप क्रिकेटअन्तर्गत सुपर- ४ को आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानलाई २ सय २८ रनले पराजित गरेको छ। भारतले आज सुपर- ४ को आफ्नो दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ।

कोलम्बोस्थित आर प्रेमदासा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पाकिस्तानलाई जितकालागि ३ सय ५७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा पाकिस्तान ३२ ओभरमा अलआउट हुँदै १ सय २८ रनमा समेटिएपछि भारतले पाकिस्तानविरुद्ध सर्वाधिक फराकिलो जित निकाल्यो। यसअघि २००८ मा पाकिस्तानविरुद्ध भारतले १ सय ४० रनको जित निकालेको थियो।

भारतीय बलरसामु पाकिस्तानका कुनैपनि ब्याटरले खुलेर खेल्न सकेनन्। ओपनर फखर जमानको २७ रन सर्वाधिक रह्यो। त्यस्तै, आघा सलमान र इफ्तिखर अहमेदको समान २३-२३ रन रहँदा थप दोहोरो स्कोरका रुपमा बाबर अजामले १० रन बनाए। भारतका लागि कुलदीप यादवले सर्वाधिक ५ विकेट लिएका थिए। त्यस्तै, जसप्रित बुमराह, हार्दिक पाण्ड्या र सार्दुल ठकुरले समान १-१ विकेट लिए।

त्यसअघि विराट कोहलीको कीर्तिमानी शतक र केएल राहुलको सानदार पुनरागमन शतकमा भारतले पाकिस्तानविरुद्ध ३ सय ५६ रन बनायो जुन एकिदवसीय अन्तर्राष्ट्रियमा पाकिस्तानविरुद्ध भारतको यो सर्वाधिक स्कोर हो।

यसअघि आइतबार २४.१ ओभरमा २ विकेट गुमाएर भारतले १ सय ४७ रन बनाउँदा वर्षाका कारण खेल रोकिएको थियो। सोमबार त्यही स्कोरबाट अघि बढेको खेलमा कोहली र राहुलले दोहोरो अविजित शतकीय साझेदारी गर्दै टिमलाई उच्च स्कोरमा पुर्याए।

कोहलीले आफ्नो इनिङमा २ सय ६७ इनिङमा १३ हजार रनको स्कोरसमेत पूरा गरे। उनी सर्वाधिक चाँडो १३ हजार रन पूरा गर्ने ब्याटरसमेत बने। कोहली ९४ बलमा ९ चौका र ३ छक्काको सहयोगमा १ सय २२ रनमा अविजित रहँदा राहुल १०६ बलमा १२ चौका र २ छक्काको सहयोगमा १ सय ११ रन बनाएर अविजित फर्किएका थिए।

कोहलीले आफ्नो करिअरको ४७ औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक प्रहार गर्दा राहुलले करिअरको छैटौं एकदिवसीय अन्तर्राष्ट्रिय शतक प्रहार गरे। राहुलले साढे २ वर्षपछि एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका हुन्। उनले पछिल्लो पटक २०२१ को मार्च २६ मा इंग्ल्यान्डविरुद्ध शतक बनाएका थिए।

य‍ी दुईबिच तेस्रो विकेटका लागि १ सय ९४ बलमा २ सय ३३ रनको साझेदारी गरेका थिए। जुन पाकिस्तानका लागि भारतीय ब्याटरले गरेको यो सर्वाधिक ठुलो साझेदारी समेत हो। त्यसअघि रोहित शर्मा र शुभमन गिलले पहिलो विकेटका लागि १ सय २१ रनको साझेदारी गरेका थिए। रोहितले ५६ रन बनाउँदा शुभमन गिलले ५८ रन बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

Array