म्यानचेस्टर युनाइटेडले पुनरागमन जित निकाल्दा आर्सनल बराबरीमा रोकियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० भाद्र २०८०, आईतवार
2 Min Read
Aa

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सानदार पुनरागमन जित हात पारेको छ। शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले नोटिङ्घम फरेस्ट विरुद्ध २ गोलले पछि परेको अवस्था उल्टाउँदै ३-२ को जित निकाल्दा अर्को खेलमा आर्सनल भने फुलह्यामसँग २-२ गोलको बराबरीमा रोकियो।

युनाइटेडको घरेलु मैदान वल्ड ट्राफोर्डमा भएको खेलमा खेल सुरु भएको ५ मिनेट भित्रनै फरेस्टले २ गोल गर्दै सनसनिपूर्ण अग्रता बनाएको थियो। तर युनाईटेडले सानदार पुनरागमन गरेको थियो। क्रिश्टियन एरिक्सनले १७ औं मिनेटमा गोल गर्दे युनाइटेडलाई खेलमा फर्काए। पहिलो हाफमा २-१ ले पछि रहेको युनाइटेडले कासिमेरोको गोलमार्पत ५२ औं मिनेटमा बराबरी गोल गर्‍यो। ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत ७६ औ मिनेटमा युनाइटेडलाई अग्रता दिलाउँदै टिमको तीन अङ्क निश्चित गरे। त्यसअघि ६७ औ मिनेटमा फरेस्टका जो वरल सिंधै रातो कार्ड खाएर मैदानबाट बाहिरिएका थिए।

त्यस्तै शनिबारनै भएको खेलमा आर्सनल भने फुलह्यामसँग २-२ गोलको बराबरीमा रोकियो। पहिलो मिनेटमानै एन्ड्रेस पेरिराको गोलमार्फत फुलह्यामले अग्रता लिएको थियो। तर दोस्रो हाफमा आर्सनलले पुनरागमन गर्‍यो। बुकायो साकाले पेनाल्टी मार्फत आर्सनललाई बराबरीमा ल्याए। डिबक्समा फाबियो भिएरालाई केनी टेटेले समातेर लडाएपछि आर्सनलले ७० औं मिनेटमा पेनाल्टी पाएको थियो। जसलाई साकाले सदुपयोग गरेका थिए। लगतै एडी एनकेतियाले आर्सनललाई अग्रता दिलाए।

८३ औं मिनेटामा फुलह्यामका केल्भिन बेसी दोहोरो पंहेलो कार्डका कारण मैदानबाट बाहिरिंदा टोली १० खेलाडीमा सिमित भएको थियो। १० खेलाडीका बाबजुत जोआओ पालहिन्हाले ८७ औं मिनेटमा गोल गर्दा आर्सनल सम्भावित जितबाट विमुख भयो भने फुलह्यामले एक अङ्क खोस्न सफल भयो।

शनिबारनै भएका अन्य खेलमा ब्रेन्टफोर्ड र क्रिश्टल प्यालेस १-१ गोलको बराबरीमा रोकिंदा वल्भेसले एभर्टनलाई १-० ले हरायो। त्यस्तै टोटेनह्यामले बोर्नेमाउथमाथि २-० को जित निकाल्यो। जितसँगै टोटेनह्याम तीन खेलमा ७ अङ्कका साथ शीर्ष स्थानमा उक्लिन सफल भयो।

प्रतिक्रिया दिनुहोस्

Array