पूर्व कप्तान पारसलाई खुल्यो ‘क्यान राजनीति’ को बाटो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ श्रावण २०८०, बुधबार
2 Min Read
Aa

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का औपचारिक रुपमा ‘क्यान राजनीति’ मा प्रवेश गरेका छन्। मंगलबार भएको काठमाडौं जिल्ला क्रिकेट संघको चुनावी साधारण सभाबाट सर्वसम्मत रुपमा उनी सदस्य निर्वाचित भएसँगै अब उनले आफ्नो चाहना अनुसार बागमति प्रदेशको अध्यक्षमा लड्न सक्ने छन्।

त्यस्तै साधारण सभाले काठमाडौं जिल्ला क्रिकेट संघको अध्यक्षमा दिवाकर घलेलाई सर्वसम्मत चयन गर्‍यो। उपाध्यक्ष अजयविर पाण्डे, सचिवमा किरण जंग वहादुर राणा र कोषाध्यक्षमा विनित ध्वज चन्द सर्वसम्मत चयन भएका छन्।

पूर्वअध्यक्ष तथा क्यानका केन्द्रिय सदस्य अजयविर पाण्डे यो पटक पनि अध्यक्षका दाबेदार मानिएका थिए। तर पूर्व कप्तान पारसले उनलाई मनाउन सफल भएसँगै संभावित चुनावको अवस्था टर्‍यो। जसका कारण पारस एक हद सम्म सफल भएका छन्। सर्वसम्मत रुपमा उपाध्यक्ष पदमा बस्न पाण्डे राजि भएपछि पारसका लागि समेत एकप्रकारको जित भएको छ।

सर्वसम्मत सदस्य निर्वाचित भएपछि पारसले सामाजिक सञ्जाल मार्फत आधिकारीक रुपमा क्रिकेट विकाश र विस्तारमा आवद्ध भएको बताए। उनले भने ‘आज भएको काठमाण्डौ जिल्ला क्रिकेट संघको चौंथो अधिवेशनबाट मलाई जिल्ला कार्यसमिति सदस्य बनाई आधिकारिक रुपमा नेपाल क्रिकेटको विकाश तथा विस्तारको लागि अघि बढ्न सहयोग गर्नुहुने सबैमा विशेष आभार प्रकट गर्न चाहान्छु।’

सदस्यहरुमा पूर्वकप्तान पारस खड्कासँगै पूर्व महिला क्रिकेटर अमृता पौडेल, मनिष कुमार उपाध्याय ढुंगेल, अरुण सत्याल,विजय शर्मा, रितेश डंगोल, रमन श्रेष्ठ, शाश्वत शर्मा, हिमाल राज गिरी, धिरेन्द्र लाल श्रेष्ठ र ज्योती गुरुङ छन्।साधरण सभाले सबै १५ सदस्सिय कमिटी निर्विरोध निर्वाचित गरेको हो।

योसँगै बागमतीका सबै ६ जिल्लाको निर्वाचन सम्पन्न भएको छ। चितवनबाट सुदीप पिया, मकवानपुरबाट करण महत्रा क्षेत्री, भक्तपुरबाट मनिष राज पाण्डे, ललितपुरबाट शेखर श्रेष्ठ र नुवाकोटबाट दुर्गाराज पाठक अध्यक्षमा निर्वाचित भएका छन्। हरेक जिल्लाबाट चार जना प्रतिनिधिले प्रदेश चुनावमा भोट हाल्न पाउनेछन्। त्यस्तै वर्तमान बागमती प्रदेशका १३ सदस्य टोलीले पनि भोट हाल्न पाउने छन्। बागमती प्रदेशको चुनावमा कुल ३७ भोट हुने छ।

प्रतिक्रिया दिनुहोस्

Array