नक्कली भुटानी शरणार्थी प्रकरण: लम्बियो थुनछेक बहस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ जेष्ठ २०८०, बुधबार
2 Min Read
Aa

नक्कली भुटानी शरणार्थी प्रकरणका अदालतमा उपस्थित १८ मध्ये ११ प्रतिवादीका तर्फबाट बहस सकिएको छ। जिल्ला अदालत काठमाडौंले बुधबारसम्म सरकारी वकिलका लागि जवाफको समेत समय तोकेको भए पनि बहस लम्बिएको हो।

प्रतिवादी आङटावा शेर्पा, टेकनाथ रिजाल, लक्ष्मी महर्जन, हरिभक्त महर्जनलगायतका तर्फबाट अझै बहस हुन बाँकी छ। यसअघि इजलासले गरेको समय व्यवस्थापन अनुसार बुधबार बहस सकेर थुनछेक आदेशको तयारी थियो।

- Advertisement -
Ad image

मङ्गलबार पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट बहस भएको छ। खाणका तर्फबाट वरिष्ठ अधिवक्ता शेरबहादुर केसी तथा अधिवक्ता पङ्कज कर्णले बहस गर्नुभएको छ। बहसको सुरुवात गर्दै कर्णले खाणविरुद्ध कुनै किटानी जाहेरीसमेत नभएको अवस्थामा सहअभियुक्तको पोलका आधारमा प्रतिशोधपूर्ण मुद्दा चलाइएको जिकिर गरे।

कर्णले अपुष्ट र अप्रमाणित पत्र सहयोगीसँग फेला पार्नुले मात्र अभियोग पुष्टि नहुने तर्क पनि गरे। शरणार्थी प्रकरणमा पक्राउ पर्नुभएका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले घटना मिलाउन पत्र लेखेको दाबी प्रहरीले गरेको छ।

सहअभियुक्तले पोलेकै आधारमा अभियोग पुष्टि हुन नसक्ने कर्णको जिकिर छ। खाणबाट प्रमाण नष्ट गर्ने कुनै अवस्था नरहेको र तत्काल ठोस कुनै प्रमाणसमेत नरहेकाले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने अवस्था नरहेको उनको जिकिर छ।

यस्तै वरिष्ठ अधिवक्ता केसीले खाणविरुद्ध अभियोगमा कुनै ठोस प्रमाण पेस गर्न नसकेको जिकिर गरे। खाणमाथि राज्यले सुनियोजित रूपमा मुद्दा चलाएको केसीको भनाइ छ। उनले खाणविरुद्ध तत्काल कुनै पनि ठोस प्रमाण नभएको तथा सहअभियुक्तको बयानका आधारमा मात्र प्रतिवादी बनाइएकाले साधारण तारेखमा रिहा हुनुपर्ने माग केसीले इजलासमा राखे।

शरणार्थी प्रकरणमा अदालतमा जेठ १० गते मुद्दा दायर भएको थियो। जेठ १२ गतेदेखि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बयान सुरु भएको थियो। बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको थियो। सरकारी वकिलले अभियोगमा प्रतिवादीबाट २८ करोड ८१ लाख ७४ हजार पाँच सय रुपैयाँ असुलउपर गरी जाहेरवालालाई भराउन माग गरिएको छ। कसुरदारबाट अपराध पीडित संरक्षण ऐन अनुसार पीडित राहत कोषमा क्षतिपूर्ति भराउन पनि माग गरिएको छ। गोरखापत्र दैनिकबाट

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्