गोप्य कोठामा विचौलिया छिरेर करको दर हेरफेर गरेको आरोप, निसानामा अर्थमन्त्री महत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ जेष्ठ २०८०, सोमबार
1 Min Read
Aa

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बजेट प्रस्तुत हुने अघिल्लो दिन भन्सार विभागका पूर्व नायव सुब्बा रामकृष्ण श्रेष्ठ गोप्य कोठामा छिरेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै शाहीले पूर्व ना.सु श्रेष्ठले गोप्य कोठामा छिरेर करको दर हेरफेर गरेको भन्ने समाचार मिडियामा आएको प्रति संसद्को ध्यानाकार्षण गराएका हुन् ।

‘एउटा समाचार आएको छ, करको दर हेरफेर गरियो भनेर । केही व्यापारी घरानालाई पोस्ने गरेर भन्सार विभागका पूर्व ना.सु रामकृष्ण श्रेष्ठलाई बजेट प्रस्तुतको अघिल्लो रात बजेट बनाउने गोप्य कोठामा लगियो भनेर समाचार आएको छ,’– उनले भने ।

व्यापारी घरानालाई पोस्ने नाममा करको दर हेरफेर हुँदा राज्यलाई ९० करोड रुपैयाँ घाटा लागेको उनको आरोप छ । सोही समयमा भन्सारबाट एक हजार एक सयभन्दा बढि गाडीहरु भित्रिएको तथ्याङ्क रहेको पनि उनले दाबी गरे । अहिल्लो पटक पनि यस्तै चलखेल भएर राज्यलाई घाटा लगाउने काम भएको उनको अरोप छ । यस विषयमा संसदीय समिति बनाएर मन्त्री दोषी पाइएमा कारबाहीका लागि उनले आग्रह गरे ।

‘अहिल्लो वर्ष पनि यस्तै भयो । अहिलेको वर्ष छिटै संसदीय समिति छानविन गरेर यदि यो काम अर्थमन्त्रालयबाट भएको हो भने अर्थमन्त्रीमाथि कारबाही गरियोस् । यदि अर्थमन्त्रालयले गरेको होइन भने लेख्ने मिडियामाथि कारबाही गरियोस्,’– उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्

Array