गिल चम्केपछि पाँच पटकको च्याम्पियन मुम्बईलाई पराजित गर्दै गुजरात आइपिएलको फाइनलमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ जेष्ठ २०८०, शनिबार
3 Min Read
Aa

शुभमन गिलको तुफानी शतकको मद्दतमा पाँच पटकको मुम्बई इन्डियन्सलाई पराजित गर्दै गुजरात टाइटन्स आइपिएलको फाइनलमा प्रवेश गरेको छ । आइपिएलको दोस्रो क्वालिफायर खेलमा शुभमन गिलको तुफानी शतक र मोहित शर्माको बलियो बलिङमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

पहिले ब्याटिङ गर्दै गुजरात टाइटन्सले दिएको २३४ रनको लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स १८.२ ओभरमा अलआउट हुँदै १७१ रन मात्र बनाउन सक्यो । उसका लागि सूर्यकुमार यादवले सर्वाधिक ६१ रन बनाए । तिलब बर्माले बिस्फोटक ब्याटिङ गर्दै १४ बलमा ४३ रन बनाउँदा क्यामरून ग्रिनले ३० रन जोडे । अन्य कुनै पनि ब्याट्समेनले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

खराब सुरूआत गरेको मुम्बईको इनिङ्सले पहिलो ओभरमा नै नेहल वडेरा मात्र चार रन बनाएर आउट भए । तेस्रो ओभरमा कप्तान रोहित शर्मा पनि व्यक्तिगत ८ रनमा आउट भए । यसपछि मैदानमा आएका तिलक वर्माले १४ बल खेल्दै ५ चौका र ३ छक्कासहित ४३ रन बनाएर पावरप्लेको अन्तिम बलमा राशिद खानबाट बोल्ड भए ।

तिलक वर्माले सूर्यकुमार यादवसँग तेस्रो विकेटका लागि ५१ रनको साझेदारीसमेत गरेका थिए । यसपछि क्यामरून ग्रीनले चौथो विकेटका लागि सूर्यकुमार यादवसँग अर्धशतकीय साझेदारी गर्दै जितको आशा जिवितै राखे ।

क्यामरुन ग्रीनले २० बलमा ३० रनको इनिङ खेले । यस्तै, खेलको १५ औं ओभरमा आउट हुनुअघि सूर्यकुमार यादवले ३८ बलमा ६१ रनको इनिङ खेले ।

मुम्बई इन्डियन्सको टोली १८.२ ओभरमा १७१ रनमा अल आउट हुँदै सातौं पटक फाइनल खेल्ने मौका गुमायो । मुम्बई इन्डियन्सले यसअघि ६ पटक फाइनल खेल्दा ५ पटक उपाधि जितेर प्रतियोगिताकै सर्वाधिक सफल टोली भएको छ ।

गुजरात टाइटन्सका लागि मोहित शर्माले उत्कृष्ट बलिङ गर्दै मुम्बई इन्डियन्सको ५ विकेट लिए । मोहम्मद शामी र राशिद खानले पनि २–२ विकेट लिए ।

यसअघि अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरात टाइटन्सले शुभमन गिलको शतकमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३३ रन बनाएको थियो ।

यो आईपिएलको प्लेअफ खेलमा बनाएको सबैभन्दा ठूलो लक्ष्यको कीर्तिमानसमेत हो । शुभमन गिलले मात्र ६० बलमा १० छक्का र ७ चौकासहित १२९ रनको बलियो इनिङ खेले ।

साही शुदर्शनले ४३ रन बनाउँदा कप्तान हार्दिक पाण्ड्याले २८ रन जोडे । ऋदिमान साह १८ रनमा आउट भएका थिए । मुम्बईका आकाश माडवाल र पियुल चावलाले १-१ विकेट लिए ।

योसँगै गुजरात टाइटन्सको टोली लगातार दोस्रो वर्ष आईपिएलको फाइनलमा पुगेको छ । अब आइतबार अहमदाबादमा हुने फाइनलमा गुजरात टाइटन्स र चेन्नई सुपर किंग्स भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array