न्युजिल्यान्डमा आँधीका कारण विद्युत्, उडान र यातायात सेवा अवरूद्ध

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १ फाल्गुन २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौँ – न्युजिल्यान्डको उत्तरी भागमा आएको उष्णकटिबन्धीय आँधीका कारण सोमबार हजारौं घरहरु विद्युतविहीन हुनुका साथै उडानहरु अवरुद्ध भएका छन् ।

आपतकालीन व्यवस्थापनमन्त्री किरन म्याकएनल्टीले तीब्र हावा र भारी वर्षाको ‘अत्यधिक खतरनाक’ संयोजनको कारण देशले व्यापक क्षति व्यहोर्नुपरेको बताएका छन् ।

आँधीको अवस्था सुरूमाभन्दा कमजोर भएपनि यसले सहर तथा ग्रामीण क्षेत्रमा व्यापक रूखहरु ढालेको छ, सडकहरुमा क्षति पुर्‍याएको छ र विद्युत लाइन अवरूद्ध भएका छन् । अकल्याण्डसहित उत्तरी पाँच क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

न्युजिल्यान्डको नर्थ आइल्याण्डमा करिब ५८ हजार मानिस विद्युत्विहीन भएका छन् । अधिकारीहरूले यो सञ्जाल पुनःस्थापित गर्न केही दिन लाग्न सक्ने बताएका छन् ।

म्याकएनल्टीले भने, “जबसम्म मौसम खराब रहन्छ, तबसम्म नेटवर्कमा काम गर्न वास्तवमा असुरक्षित छ ।”

न्युजिल्यान्डको सबैभन्दा ठूलो सहरमा गत महिना आएको बाढीका कारण चारजनाको मृत्यु हुनुका साथै हजारौं मानिस विस्थापित बनेका थिए । उक्त क्षतिको घाउ नमेटिँदै यो अर्को प्राकृतिक विपत्ति आएको छ ।

नर्थल्याण्ड क्षेत्रमा १४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हावाहुरीले क्षति पुर्‍याएको थियो भने अकल्याण्ड हार्बर ब्रिजमा ११० किलोमिटर प्रतिघण्टाको वेगले आँधीले प्रवेश गरेको थियो ।

म्याकएनल्टीले भने, “सरकारले देशको इतिहासमा तेस्रो पटक राष्ट्रिय आपतकालीन अवस्था घोषणा गर्ने बताइरहेको छ । मेरो विचारमा आपतकालीन अवस्थाको घोषणा गरिहाल्नु पर्दैन । किनकि आँधीको रफ्तार कमजोर भइसकेको छ ।”

मौसमले न्युजिल्यान्डको यातायात सञ्जाललाई पनि तहसनहस पारेको छ । उडान, रेल र बस तालिकाहरू सबै नराम्ररी प्रभावित भएका छन् ।

एयर न्युजिल्यान्डले हालसम्म ५०९ उडान रद्द गरेको तर मंगलबारदेखि सामान्य उडान सुरु हुने अपेक्षा गरिएको जनाएको छ ।

उक्त विमान सेवालेले १० हजारभन्दा अन्तर्राष्ट्रिय सेवाग्राहीहरू प्रभावित भएको र छ हजार ५०० लाई पुनः टिकट बुक गर्नु परेको बताएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

Array