काठमाडौं– नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलमा पदाधिकारी मनोनीत र कार्यसमिति विस्तार गर्ने भएका छन् । बिहीबार बिहान देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकमा कार्यसमिति विस्तारबारे छलफल भएको थियो। देउवाले पदाधिकारी मनोनीत र कार्यसमिति विस्तारको तयारी थालेका हुन् ।
देउवाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी सांसद रमेश लेखकलाई दिएका छन् । देउवाले अहिलेसम्म दलको उपनेता र सचेतक भने मनोनीत गरेका छैनन् ।
संसदीय दलको उपनेता र सचेतक मनोनीत गर्ने देउवाको तयारी छ । उपनेतामा पूर्णबहादुर खड्का र सचेतकमा सीता गुरुङलाई मनोनीन गर्ने तयारी भइरहेको जानकारी प्राप्त भएको छ । देउवाले संसदीय दलले कार्यसमिति विस्तारका लागि छलफल अगाडि बढाइसकेका छन् । बिहीबारको बैठकमा कार्यसमितिका सदस्यको निर्वाचनका सन्दर्भमा छलफल भएको पनि बताइएको छ । कांग्रेसमा संसदीय कार्यसमिति ३१ सदस्यीय हुने व्यवस्था छ । कार्यसमितिमा संसदीय दलको नेता, उपनेता, राष्ट्रियसभा सदस्यको दलको नेताका साथै निर्वाचित, मनोनीत र पदेन सदस्य गरी ३१ जना रहने छन् । कार्यसमितिमा सात वटा प्रदेशबाट सात जना निर्वाचित हुने व्यवस्था छ । सम्बन्धित प्रदेशका सबै प्रतिनिधिसभा सदस्यको मतदानबाट एक जना निर्वाचित हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्