मकवानपुर–
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले विद्यालयहरूमा बाँडिने दिवा खाजामा साताको एक दिन बिहीबार अनिवार्य रूपमा गाउँमै स्थानीयस्तर फलेका अन्नबालीको प्रयोग गर्ने को गरेको छ। दिवा खाजामा कोदो‚ मकै र फापरको ढिंडोका साथै सिमी, बोडी, मस्याङका परिकार पनि समावेश गरिने गाउँपालिकाले निर्णय गरेको छ ।
गाउँपालिकाले कोदो, मकै, फापरका ढिंडो लगायत परिकार बनाउने पहिलो चरणको तालीम माघ १३ र १४ गते दिइसकेको गाउँपालिकाले बताएको छ । तालीममा वडा नं १, २, ३, ४, र ६ का १५ वटा विद्यालयका प्रतिनिधिहरूको सहभागिता थियो। तालीममा कोदो र फापरका हलुवा, निम्की, फुलौरा, मःमः, फापरको बिस्कुट बनाउन सिकाइएको चौधरीले बताए ।
रैथाने बाली प्रवर्द्धनका विविध कार्यक्रम गर्दै आएको गाउँपालिकाले यसअघि पनि स्थानीय व्यवसायीहरूलाई कोदो र फापरका दुनोट, सेल, केक, पिज्जा, बिस्कुट लगायतका परिकार बनाउने तालीम दिएको थियो । २० व्यवसायीलाई नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको खाद्य अनुसन्धान महाशाखाका विज्ञहरूले तालीम दिएका थिए।
स्थानीय तथा रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गरी किसानलाई प्रोत्साहन गर्ने नीति अनुसार स्थानीय रूपमा उत्पादित बालीको खपतका लागि उक्त कदम चालिएको हो। गाउँपालिकामा रहेका ३८ वटा सामुदायिक विद्यालयमा ६ हजार ७४ विद्यार्थी छन्। ती विद्यालयमध्ये बालविकासदेखि कक्षा ६ सम्मका विद्यार्थीहरूका लागि संघीय सरकारको अनुदानमा दिवा खाजा खुवाइन्छ। गाउँपालिकाले भने कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरूलाई आफ्नै स्रोतबाट दिवा खाजा खुवाउँदै आएको छ।
गाउँमै फलेका अन्नबालीको खाजा खुवाउनु पर्ने गाउँपालिकाको निर्णय

प्रतिक्रिया दिनुहोस्