काठमाडौँ – अस्ट्रेलियामा जारी टी–२० विश्वकपमा बंगलादेशलाई पराजित गर्दै पाकिस्तानले सेमिफाइनलमा स्थान बनाएको छ। आइतबार भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ५ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।
जितसँगै पाकिस्तानले लगातार सुरुवाति दुई खेल गुमाए पनि पछिल्ला तीन खेलमा जित निकाल्दै अन्तिम चारमा स्थान बनायो। पाकिस्तानको सेमिफाइनल यात्रा आइतबार नै भएको खेलमा दक्षिण अफ्रिका नेदरल्यान्डसँग पराजित भएसँगै बलियो बनेको थियो।
एडिलेडमा भएको खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २७ रन मात्र बनाएको थियो। जवाफमा पाकिस्तानले उक्त लक्ष्य ११ बल बाँकी हुँदै ५ विकेट गुमाएर पूरा गर्यो। पाकिस्तानका लागि मोहम्मद रिजवानले ३२ रन बनाउँदा मोहम्मद ह्यारिसले ३१ रन बनाएका थिए। त्यस्तै कप्तान बाबर अजामले २५ रन बनाउँदा सान मसुदले २४ रन बनाएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशका लागि ओपनर नजमुल होसेइन सान्टोले ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए। उनीबाहेक अन्यको प्रदर्शन भने गतिलो रहेन। सौम्य सरकारले २० रन बनाउँदा अफिफ हुसैनले २४ रन बनाएका थिए। त्यस्तै थप दोहोरो स्कोरका रुपमा लिटन दासले १० रन बनाएका थिए। बंगलादेशलाई सस्तैमा समेट्ने क्रममा शाहीन शाह अफ्रिदीले ४ विकेट लिएका थिए। त्यस्तै सादव खानले २ विकेट लिएका थिए।
समूह २ को अन्तिम खेलमा भारत र जिम्बाब्वे प्रतिस्पर्धा गर्दैछन्। उक्त खेलमा भारत विजयी भए समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्ने छ। पराजित भएमा पाकिस्तान समूह विजेता हुने छ। विजेताले इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दा उपविजेताले समूह एकको विजेता न्युजिल्यान्डको सामना गर्नेछ।


प्रतिक्रिया दिनुहोस्