आज भाइटीका: भाइटीकामा वाचन गरिने मन्त्र (अर्थसहित)

भाइटीकामा दाजुभाइका लागि दिदी–बहिनीले र दिदीबहिनीका लागि दाजुभाइले टीका लगाउदा पढ्ने मन्त्र शास्त्रले व्यवस्था गरेको छ । दाजुभाइका लागि दिदी–बहिनीले र दिदीबहिनीका लागि दाजुभाइले बाचन गर्ने दुवै प्रकारका मन्त्रका श्लोक र  अर्थ यस्तो रहेको छ ।

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० कार्तिक २०७९, बिहीबार
3 Min Read
Aa

काठमाडौँ — भाइटीकामा दाजुभाइका लागि दिदी–बहिनीले र दिदीबहिनीका लागि दाजुभाइले टीका लगाउदा पढ्ने मन्त्र शास्त्रले व्यवस्था गरेको छ ।

दाजुभाइका लागि दिदी–बहिनीले र दिदीबहिनीका लागि दाजुभाइले बाचन गर्ने दुवै प्रकारका मन्त्रका श्लोक र  अर्थ यस्तो रहेको छ ।

दिदीबहिनीले दाजुभाइका लागि टिका लगाउदा प्रार्थना गर्ने मन्त्र :


मार्कण्डेय नमस्तुऽतु नमस्ते महदायुषे ।

चिरायुस्त्वं यथा लोके तथा भ्राता भवेन्मम ।।१।।

आयुःप्रद महाभाग सोमवंश समुद्भव ।

महामते मुनिश्रेष्ठ मार्कण्डेय नमोऽस्तु ते ।।२।।

भ्रातस्ववानुजाताहं भुङ्क्ष्व भोज्यमिदं शुभम् ।

प्रीतये यमराजस्य यमुनाया विशेषतः ।।३।।

यत्प्राप्ता च यमुनया यमराजस्य पूजनात् ।

तथा ममापि सकलं भवेज्जन्मनि जन्मनि ।।४।।

आयुर्लक्ष्मीर्यशोधैर्यं निर्भयत्वमरोगिता ।

वाक्पटुत्वमजाङ्यञ्च जायतां तव सर्वदा ।।५।।

यसको अर्थ :

हे चिरञ्जीवी मार्कण्डेय मुनि ! हजुरलाई नमस्कार छ । जसरी लोकमा हजुर चिरायु हुनुहुन्छ, त्यसरी नै मेरा दाजुभाइलाई पनि दीर्घजीवी बनाइदिनुहोस् ।
सोमवंशी आयुदाता एवं बुद्धिमान है मार्कण्डेय ऋषि ! हजुरलाई प्रणाम छ ।
हे दाजुभाइ ! यो मैले बनाएर दिएको यो शुभ भोजन यमराज र यमुनाका वरप्रसादले अत्यन्त उत्तम छ । यो खानाले यहाँहरूको लामो समयसम्म कल्याण हुनेछ ।
जसरी यमुनाजीले यमराजको दीर्घजीवन प्राप्तिका लागि पूजाअर्चना गरिन् र उनी दीर्घजीवी भए, त्यस्तै पनि मेरा यी दाजुभाइ दीर्घजीवी होऊन् । यस्तै आपसी प्रेम र भातृत्वको कामना राख्दै भगवानका प्रसादले हामी लामो आयुवाला बन्न सकौँ ।
धर्मराजका वरप्रसादले मेरा दाजुभाइमा सुदीर्घ आयु, धनसम्पत्ति, यशकीर्ति, धीरपन, निडरपन, निरोगिता आदि सुखदायक कुरा सही समयमा सही उत्तर दिने क्षमता चलाखीपनजस्ता अनेकौँ सकारात्मक गुण सदासर्वदा आइरहून् ।

दाजुभाइले दिदीबहिनीहरूलाई टिका लगाउदा प्रार्थना गर्ने मन्त्र:


त्वं लक्ष्मीस्त्वमपर्णासि ब्राह्मी त्वं च सरस्वती ।

त्वत्पूजनात् भवेयुस्ताः पूजिता मम सर्वदा ।।१।।

आयुर्लक्ष्मीर्धनं धान्यं पश्वादिकमरोगिता ।

सर्व त्वदर्चनाद्दीप्तं भवेज्जन्मनि जन्मनि ।।२।।

पतिपुत्रधनैश्वर्यं सौभ्रात्रं जन्मजन्मनि ।

अक्षयं जायतां देवि धर्मराजप्रसादतः ।।३।।

 

हे चेलीहो ! तिमीहरू नै मेरा लक्ष्मीस्वरूपा, अपर्णास्वरूपा, ब्रह्माणीस्वरूपा, सरस्वतीस्वरूपा हौ । तिमीहरूमा त्यो क्षमता छ । त्यसैले तिमीहरूलाई मैले पूजा गर्दा लक्ष्मीहरूलाई पूजा गरेको मानिन्छ ।

देवीस्वरूपा तिमीहरूको पूजाअर्चना गर्नाले हामी सबैको आयु लक्ष्मी वृद्धि पशुधन धान्यादि प्राप्त होस् । साथै स्वस्थ भएर जन्मजन्मान्तर बाँचिरहनुपरोस् ।

हाम्रो आपसी प्रेम र भातृत्व साथै तपाईं चेलीहरूको अखण्ड सौभाग्य पुत्रपौत्रादिसन्तति, धनधान्य ऐश्वर्य आदि जन्म-जन्मान्तरसम्म रहिरहोस् । धर्मराजका कृपाप्रसादले कहिल्यै नाश नहुने अटूट सम्बन्ध रहोस् भन्ने कामना गर्दछु ।

 

प्रतिक्रिया दिनुहोस्

Array