अरू पार्टी प्रतिस्पर्धा गर्न योग्य छैनन्, हाम्रो प्रतिस्पर्धी एमाले हो: अध्यक्ष लिङ्देन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा राप्रपाको प्रतिस्पर्धा एमालेसँग हुने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले राप्रपाको मुख्य प्रतिस्पर्धा नेकपा एमालेसँग हुने बताएका हुन् ।

उनले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीहरू १ सयभन्दा तलको सिटमा खुम्चिसकेको उल्लेख गर्दै नेकपा एमाले नै राप्रपाको मुख्य प्रतिस्पर्धी भएको जिकिर गरे । अध्यक्ष लिङ्देनले आगामी निर्वाचनमा पनि पटक–पटकको नेतृत्वमा असफल भइसकेका पार्टीहरूलाई भोट हाल्ने हो भने नागरिकहरूले नै दुःख पाउने बताए ।

- Advertisement -
Ad image

उनले काँग्रेस र माओवादी लगायतका दलहरूका मतदाताहरू अहिले राप्रपाको सक्रियता खोजिरहेको उल्लेख गर्दै काँग्रेस, कम्युनिस्टको झण्डा धुरीमा राखेर राप्रपालाई भोट दिन मतदाता तयार रहेको बताए । उनले आगामी निर्वाचनबाट राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न नसक्ने दाबी गरे ।

उनले भने, ‘यो निर्वाचनमा राप्रपा अग्रणी पार्टी हुने कुरालाई कसैले रोक्न सक्दैन । यस पटक राप्रपाको चुनावी प्रतिस्पर्धा नेकपा एमालेसँग भएको छ । अरू पार्टीहरूको त हिसाबकिताब नै छैन । उम्मेदवार नै सय कटाउन सकेका छैनन् । काँग्रेस, माओवादी भन्ने पार्टी त सय भन्दा तल छन् । कोही त ५० भन्दा तल छन् । अनि सरकार बनाउँछु, सरकारको नेतृत्व गर्छु र आगामी दिनमा प्रधानमन्त्री हुन्छु भन्छन्, नेकपा एमालेको हाराहारीमा उम्मेदवारी प्रस्तुत गर्न सक्ने राप्रपा मात्रै हो । हिजो हामी ४ सिटमा उम्मेदवारी उठाएर हिँडेका थियौँ, आज १४० सिटमा छ । अप्रत्याशित रूपमा परिणाम आउने छ ।’

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्