काठमाडौँ – सत्ता गठबन्धनको तर्फबाट रुपन्देही २ मा उमेदवारी दिएका नेकपा (एकीकृत समाजवादी) का राजु गुरुङले आफ्नो उमेदवारी खारेजीको विरुद्धमा दिएको रिटको आज पेसी तोकिएको छ ।
यसअघि, बुधबार पेसी चढेर पनि हेर्न नभ्याइनेमा परेको उक्त मुद्दा आज न्यायाधीशद्वय ईश्वर खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको छ । गुरुङको रिट सुनुवाइको पहिलो नम्बरमा परेको छ ।
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेल उमेदवार रहेको उक्त क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उमेदवारी खारेज गरेको थियो । बैंकिङ कसुरमा दोषी रहेको पाइएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उमेदवारी खारेज गरेको थियो ।
सोहीविरुद्ध गुरुङले हालेको रिटमा अन्तरिम आदेशको विषयमा सुनुवाइ गर्न बुधबार न्यायाधीश सुष्मालता माथेमा र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी परेको थियो । तर, हेर्न नभ्याइनेमा परेपछि उक्त रिटमाथि सुनुवाइ हुन सकेन ।
गत आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासले रुपन्देही २ का निर्वाचन अधिकृतको कार्यालयले गरेको गुरुङको उमेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यन्वयन नगन अल्पकालीन आदेश जारी गरेको थियो ।
गुरुङको उमेदवारी फौजदारी मुद्दामा सजाय पाएको र तीन वर्ष नपुगेको आधारमा बदर गरिएको थियो । उनले निर्वाचन आयोगमा उमेदवारी बदरविरुद्ध उजुरी पनि गरेका थिए ।
आयोगले बदरको निर्णय सदर गरेपछि उनी आयोगका विरुद्ध रिट लिएर सर्वोच्चमा पुगेका हुन् । गुरुङलाई ७८ पुस १२ मा चेक अनादरको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सजाय भएको थियो ।


प्रतिक्रिया दिनुहोस्