काठमाडौँ – आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गरिने भएको छ। भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा बिहीबार सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीले बताएका छन।
कैलाली–कञ्चनपुरका प्रशासन तथा सुरक्षा निकायका प्रमुख र भारतीय अधिकारीहरू बीच छलफल भएको थियो। सीमा नाकामा हुने आपराधिक गतिविधि हुन नदिन आ–आफ्नो क्षेत्रमा सुरक्षा निगरानी बढाउने सहमति भएको जिल्ला अधिकारीले जनाएका छन।
‘बैठकमा निर्वाचन हुनुभन्दा ७२ घण्टाअघि सीमा नाका सिल गर्ने सहमति भएको छ’, उनले भने, ‘निर्वाचन प्रभावित हुने गतिविधि हुन नदिन सीमा नाकामा सुरक्षा निगरानी बढाउने समझदारी भएको छ।’
उनले पश्चिमी सीमा नाका गड्डाचौकीमा नेपालीहरूमाथि दुर्व्यवहार हुने गुनासो आएकाले यस विषयमा पनि भारतीय सुरक्षा अधिकारीसमक्ष नाकामा मैत्रीपूर्ण व्यवहारको वातावरण बनाउन आग्रह गरिएको बताए।
स्थानीयस्तरका समस्या समाधान र अपराध नियन्त्रणका लागि हरेक तीनरतीन महिनामा नेपाल–भारत संयुक्त बैठक हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्