काठमाडौं– सौर्य उर्जा अध्ययनका लागि लाइसेन्स वितरण भैरहेको छ । सौर्य ऊर्जा (सोलार) बाट उत्पादित विद्युत प्रतिस्पर्धी दरमा खरिद बिक्री गर्ने निर्णय भएसँगै अध्ययनका लागि प्रवर्द्धकहरुले लाइसेन्सको लागि कडा दौडथुप गरिरहेका छन् । चालु वर्षमा २२० मेगावाट क्षमताका ८ वटा आयोजनाले अध्ययनका लागि सर्वे लाइसेन्सको अनुमति पाएका छन्। २०० मेगावाटको ६ वटा आयोजना हाइभ नेपाल प्रालि एक्लैले अध्ययनको लाइसेन्स लिएको छ। साउनमा ८ वटै आयोजनाले अनुमति पाएका हुन्।
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालको संयोजकत्वमा बसेको विद्युत प्राधिकरणको बोर्ड बैठकले सोलार आयोजनाको प्रतिस्पर्धाबाट विद्युत खरिद बिक्री सम्झौता निर्णय गरेको हो। उक्त निर्णयसँगै सोलार आयोजनाको पीपीएका लागि बाटो खुलेको छ। निर्णयपछि सरकारी तथा निजी क्षेत्रले आयोजनाहरु अघि बढाउन थालेका छन्।
प्राधिकरण बोर्ड बैठकले सोलारबाट उत्पादित ऊर्जालाई सर्वसुलभ, प्रतिस्पर्धी दर र कारोबार प्रक्रिया पारदर्शी बनाउने भन्दै प्रतिस्पर्धाबाट पीपीए गर्ने निर्णय गरेको हो। पीपीएका लागि ५ रुपैयाँ ९४ पैसा बेस रेट तोकिएको छ। अर्थात प्राधिकरणले सौर्य ऊर्जाबाट उत्पादित विद्युत ५ रुपैयाँ ९४ पैसाभन्दा बढीमा किन्ने छैन।
प्राधिकरणमा ११३९१ मेगावाट क्षमताका आयोजनाहरुले पीपीएका लागि आवेदन दिएका छन्। पीपीए खुलेसँगै (सोलार) आयोजनाको व्यवसायिक उत्पादनका लागि निजी तथा सरकारी कम्पनीहरुले लगानी बढाउन थालेका छन्।
धेरै प्रवर्द्धक कम्पनीहरु अहिले सोलारका आयोजनाहरुको अध्ययन, निर्माण लगायतको लाइसेन्स बारे बुझ्न जाने र आवेदन दिने क्रम बढेको छ।
विद्युत विकास विभागका एक इन्जिनियरका अनुसार भारतका विभिन्न कम्पनीले समेत सोलारका आयोजनाहरुमा लगानी गर्न चाहेको छ।


प्रतिक्रिया दिनुहोस्