काठमाडौँ – बीमा समितिले आएई लाइफ इन्स्योरेन्सको चुक्ता पुजि बृद्दि गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीले बीमा समितिबाट स्वीकृति प्राप्त भएबमोजिम विद्यमान संस्थापक शेयरधनीहरुबाट शतप्रतिशत पुँजी थप्न आह्वान गरेको छ ।
कम्पनीको असोज २६ गते सम्पन्न पाँचौ वार्षिक साधारण सभाले विशेष प्रस्ताव बमोजिम बीमा समितिले निर्देशन दिएबमोजिम संस्थापक शेयरधनीबाट हाल कायम रहेको चुक्तापुँजीको शत प्रतिशत बराबरको शेयर पुँजी पुनःथप गर्ने प्रस्ताव पारित गरेको थियो । बीमा समितिबाट कम्पनीले शतप्रतिशत पुँजी थप्न स्वीकृति पाएसँगै कम्पनीले साधारण सभाबाट पारित भएबमोजिम संस्थापक शेयरधनीहरुबाट शतप्रतिशत पुँजी रकम जम्मा गर्न सूचना समेत जारी गरेको छ ।
कम्पनीको असोज ३१ गते बसेको संचालक समितिको निर्णयअनुसार आइएमई लाइफले थप पुँजी माग गर्ने निर्णय गरेको हो । कम्पनीले मंसिर ५ गतेसम्म साविकका शेयरधनीहरुलाई हकप्रद शेयर वापतको रकम कम्पनीले तोकेबमोजिम बैंक खातामा जम्मा गर्न अनुरोध गरेको छ ।
कम्पनी मर्जरमा नगई बीमा समितिले तोके बमोजिम न्युनतम चुक्तापुँजी जुटाउने तयारीमा जुटेको हो । कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । शतप्रतिशत पुँजी थप भएसँगै कम्पनीको चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ पुग्नेछ । सर्वसाधारणका लागि ३० प्रतिशतले हुन आउने गरी आइपिओ निष्काशन पछि आइएमई लाइफको चुक्ता पूँजी ४ अर्ब पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्