काठमाडौं – महामारी पछि पहिलो विदेश यात्रा गर्नका निम्ति नेपथ्य दुबइ जाने भएको छ । कात्तिक २० गते ब्याण्ड उक्त सहरमा तेश्रोपटक प्रस्तुत हुँदै छ । चाडबाडको बेला आफन्तबाट हजारौं किलोमिटर पर रहेका नेपाली दाजुभाइलाई दसैँ, तिहार र छठको समेत संगीतमय कोशेली बोकेर ब्याण्ड त्यसतर्फ जान लागेको हो ।
विश्व बजारकै महत्वपूर्ण थलो बन्दै गइरहेको दुबइ सहर नेपाली कामदारको प्रमुख गन्तब्य मुलुकमध्येको युनाइटेड अरब इमिरेट्सको ब्यापारिक केन्द्र पनि हो । यस सहरमा आयोजित अघिल्ला कन्सर्टहरुको बेला अन्य इमिरेट्सहरु विशेषगरी अबुधाबी, सारजहाँ र रस अल खइमाबाट पनि नेपाली दर्शक उल्लेख्य संख्यामा उपस्थित भएका थिए । अघिल्लापटकहरु झैं यसपाला पनि दुबइस्थित ‘अल नासेर लिजरल्याण्ड’ मै ब्याण्ड प्रस्तुत हुँदै छ ।
नेपथ्यले २०१५ को महाभूकम्प लगत्तै आफूलाई यस सहरमा प्रस्तुत गरेको थियो । पूर्व निर्धारित कार्यक्रम भएकैले शोकका बेला पनि उपस्थिती जनाउन पुगेको नेपथ्यले त्यतिबेला दुबइ कन्सर्टबाट प्राप्त रकममध्ये प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोगार्थ जम्मा गरेको थियो । त्यसको चार वर्षपछि सन् २०१९को मार्च महिनामा दोश्रोपटक नेपथ्य दुबइ पुगेको थियो ।
नेपथ्यलाई यसपटक दुबइ सहरमा ‘अमृत इभेन्ट्स’ले प्रस्तुत गर्न लागेको हो । यो कन्सर्टको टिकट दुबइलगायत आसपासका छेत्रहरुमा समेत उपलब्ध गराइएको छ । स्थानीय आयोजकका अनुसार दुबइमा हुने नेपथ्य कार्यक्रमको टिकटको मूल्य ५० तथा १०० युएइ दिरहम राखिएको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा सँधैजस्तै अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले साथ दिने छन् । आगामी नोभेम्बर ६ तारिखमा हुने कार्यक्रमका लागि नेपथ्यको टोली नोभेम्बर ३ तारिख त्यसतर्फ प्रस्थान गर्ने तयारीमा जुटेको छ ।


प्रतिक्रिया दिनुहोस्