प्याराग्लाइडिङ दुर्घटनाः छानबिन समिति गठन गर्ने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ – पोखरामा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगितामा भएको प्याराग्लाइडिङ दुर्घटना अध्ययन तथा छानबिनका लागि सरकारले समिति गठन गर्ने भएको छ।
नवौं राष्ट्रिय खेलकुदका क्रममा आइतबार भएको दुर्घटनामा घाइते आर्मी क्लबका खेलाडी निसिम थापाको मृत्यु भएको थियो। घटनापछि नागरिक उड्डयन प्राधिकरणले देशभर प्याराग्लाडिङ उडानमा अनिश्चितकालका लागि रोक लगाएको छ।

साहसिक खेलका रूपमा रहेको प्याराग्लाइडिङ उद्योग व्यवस्थित बनाउनका लागि अध्ययन समिति गठन गरिने प्राधिकरणका एक अधिकारीले बताए।

- Advertisement -
Ad image

“हिजो भएको दुर्घटनाको अध्ययनका लागि कमिटी गठन गर्न लागिएको छ। उड्डयन क्षेत्रसँगै जोडिएको यो खेल र योसँग सम्बन्धित संस्था व्यवस्थित गर्ने उद्देश्यले कमिटी गठन हुनेछ,” उनले भने। दुर्घटना लगत्तै आइतबार प्राधिकरणले देशैभर संचालित प्याराग्लाइडिङ उडान बन्द गर्न निर्देशन दिइसकेको छ।

अर्को सूचना जारी नहोउन्जेल प्याराग्लाइडिङ देशैभर बन्द गराउने निर्णय गरिएको हो। आइतबार बिहान साढे ११ बजे पोखरा-१८ सराङकोटस्थित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा प्याराग्लाइडिङबाट खसेर घाइते भएका थिए।

ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ खेल भइरहेको समयमा अचानक खसेको थियो। घाइते थापाको उपचारको क्रममा पोखरास्थित मेट्रोसिटी अस्पतालमा मृत्यु भएको थियो।

यो खेलका लागि क्यानले ११ वटा जिल्लामा व्यवसायिक उडानका लागि इजाजत दिएको छ भने कास्की जिल्लाभर ६० वटा कम्पनीले यो उडान सेवा दिँदै आएका छन्।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्