काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरीका सबै संगठनलाई आगामी दिनमा थप आधुनिक बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन । सोमबार ६७ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
देउवाले भने, “नेपाल प्रहरीलाई आगामी दिनमा थप आधुनिक, व्यावसायिक, श्रोत, साधनले सम्पन्न बनाउन सरकार प्रतिवद्ध छ ।” उनले प्रहरीभित्र सबै कर्मचारीको वृत्ति विकासलाई समयानुकूल सुधार गर्दै जानुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे । प्रधानमन्त्री देउवाले
आगामी निर्वाचन शान्तिपूर्ण रुपमा गराउनेबारेमा प्रहरीको प्रमुख जिम्मेवारी रहने भन्दै ऐन, कानुनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन निर्देशन दिए ।
“ऐन, कानुनले दिएको आफ्नो अधिकार प्रयोग गरी निर्वाचनलाई सम्पन्न गर्न निर्देशन दिन चाहन्छु । सीमित श्रोत, साधन, कठिनाइका बीच भएका श्रोत, साधनको प्रयोग गरी उक्त कार्यमा लाग्न निर्देशन दिन्छु,” उनले भने, “स्थानीय निर्वाचनमा नेपाल प्रहरीले खेलेको भूमिका प्रशंसायोग्य छ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन, निष्पक्ष, स्वतन्त्र वातावरणमा सम्पन्न गराउनुहुनेछ भन्नेमा म विश्वस्त छु ।”
प्रधानमन्त्री देउवाले प्रहरी प्रशासनले हरेक समय नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको भन्दै धन्यवाद व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्