काठमाडौँ -सर्वोच्च अदालतले रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
रिटको सुनुवाइ आइतबार न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको थियो । सुनुवाई पछि श्रेष्ठको इजलासले रूपन्देही २ का निर्वाचन अधिकृतको उमेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्नु भनी आदेश जारी गरेको छ ।
गुरुङले आफ्नो उमेदवारी खारेजीविरुद्ध बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए । गुरुङको रिटमा प्रारम्भिक सुनुवाइका लागि शुक्रबार न्यायधीश हरिप्रसाद फुयालको एकल इजलासमा पेसी तोकिएको थियो । पेसी गुरुङकै कानुन व्यवसायीबाट स्थगित गरिएको थियो ।
गुरुङको उमेदवारी, फौजदारी मुद्दामा सजाय पाएको र तीन वर्ष नपुगेको आधारमा बदर गरिएको थियो । उनले निर्वाचन आयोगमा उमेदवारी बदरविरुद्ध उजुरी पनि गरेका थिए ।
आयोगले बदरको निर्णय सदर गरेपछि उनी आयोगविरुद्ध सर्वोच्चमा रिट लिएर पुगेका थिए । गुरुङलाई ०७८ पुस १२ मा चेक अनादरको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सजाय भएको थियो ।


प्रतिक्रिया दिनुहोस्