काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ प्रकोप अझै रहेकाले तीनै तहका सरकार, विभिन्न सामाजिक संस्था र निजी क्षेत्रले सञ्चालन गरिरहेको हातको सरसफाइसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताएकी छन ।
राष्ट्रपति भण्डारीले विश्व हात धुने दिवसका अवसरमा शुभकामना मन्तव्य दिँदै साबुनपानीले हात धुँदा श्वासप्रश्वासजन्य रोग एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, जीवाणु एवं विषाणुद्वारा लाग्ने रोगबाट बच्न सकिने कुरा उल्लेख गरेकी छन ।
उनले सबै नेपालीले हातको स्वच्छतासम्बन्धी व्यवहारको विकास गरी सबै नागरिकको जीवनलाई स्वच्छ, स्वस्थ र मर्यादित बनाउन विज्ञप्तिमार्फत आह्वान गरेकी छन ।
उनले हातको स्वच्छता, स्वास्थ्यको दृष्टिले अत्यन्तै महत्वपूर्ण हुने उल्लेख गर्दै हात सफा नभएका कारणले नै अनेक सङ्क्रमण भई विश्वभर कैयौँ मानिसले जीवन गुमाउनु परेको तथ्याङ्क सार्वजनिक भइरहेको कुरा उल्लेख गरेकी छन ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००८ अक्टोबर १५ तारिखदेखि मनाउन सुरु गरिएको विश्व हात धुने दिवस ‘हातको स्वच्छताका लागि विश्वव्यापी ऐक्यबद्धता’ भन्ने नाराका साथ विश्वभर मनाइँदै छ ।


प्रतिक्रिया दिनुहोस्