विदेशी प्रतिनिधिसँग आफू खुसी भेटघाट र सम्झौता नगर्न तीनै तहका सरकारलाई निर्देशन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ आश्विन २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विदेशी प्रतिनिधिसँग आफू खुसी भेटघाट र सम्झौता तथा समझदारी गर्न कडाइ गरेको छ । स्थानीय, प्रदेश तथा कतिपय संघीय सरकारका पदाधिकारीहरुलेसमेत विदेशी सरकार तथा अन्तर्राष्ट्रिय सरकारी वा गैर सरकारी सङ्घ संस्थाहरू, विकास साझेदार लगायतका सङ्घ संस्थाका पदाधिकारीहरूसँग भेटघाट, वार्ता, भ्रमणको आदानप्रदान गर्ने क्रम बढेको हो ।

बुधवार स्थानीय, प्रदेश र संघीय सरकारका मन्त्रालयहरूलाई छुट्टाछुट्टै पत्र लेख्दै प्रधानमन्त्री कार्यालयले नेपाल सरकारको सहमति र निर्धारित विधि र प्रक्रियाबिना सबै प्रदेश सरकार तथा स्थानीय तहले वैदेशिक सहायता लगायतका विषयमा कुनै पनि प्रकारको सम्झौता वा समझदारी गर्न नमिल्ने भन्दै विदेशी प्रतिनिधिसँग कुनै पनि प्रकारको भेटघाट गर्नु पूर्व परराष्ट्र मन्त्रालयको सहमति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था रहेको जानकारी गराउँदै सो व्यवस्थाको कडाइका साथ पालना गर्न निर्देशन दिएको छ ।

“नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका पदाधिकारीहरूले विदेशी सरकार तथा अन्तर्राष्ट्रिय सरकारी वा गैर सरकारी सङ्घ संस्थाहरू, विकास साझेदार लगायतका सङ्घ संस्थाका पदाधिकारीहरूसँग गर्ने भेटघाट, वार्ता, भ्रमणको आदानप्रदान वा अन्य सबै प्रकारका सम्पर्कलाई व्यवस्थित, मर्यादित एवं राष्ट्र हित अनुकूल बनाउन “कूटनीतिक आचारसंहिता, २०७७” कार्यान्वयनमा रहेको ब्यहोरा अवगतै छ”, परिपत्रमा भनिएको छ “मन्त्रालय र त्यहाँ मातहतका निकायले कूटनीतिक भेटघाट गर्दा उक्त आचारसंहिताको अनिवार्य रूपमा पालना गर्ने÷गराउने व्यवस्था हुन निर्णयअनुसार अनुरोध छ”

स्वायत्त सरकारका नाममा स्थानीय र प्रदेश सरकारका कतिपय गतिविधिहरू नियन्त्रण गर्न जरुरी भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्