पुनः नेपालको प्रशिक्षक बन्न चाहन्छु – ग्यारी फिलिप्स

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ आश्विन २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ – राष्ट्रिय महिला टोलीका पूर्व प्रशिक्षक ग्यारी फिलिप्सले पुनः नेपालको प्रशिक्षक बन्ने चाहना देखाएका छन्। अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्सले साफ च्याम्पियनशिप २०२२ मा उपविजेता बनेको नेपाली टोलीको नेतृत्व सम्हाल्न आफु तयार रहेको धारणा राखेका छन् ।

“मैले थोरै समय नेपालको महिला टोली हेर्ने मौका पाएको थिएँ । मलाई नेपाली खेलाडीसँग काम गर्न रमाईलो लाग्यो र फिलिप्स भने मलाई विश्वास छ कि हामीसँग राम्रो सम्बन्ध थियो । एन्फाको योजनाको बारेमा मलाई थाहा छैन र कसैसँग कुरा भएको छैन । तर मेरो चाहना फेरी नेपाली टोलीसँग काम गर्ने छ । म यसको लागि तयार छु ।”

ग्यारीले एन्फाको टेक्निकल डाइरेक्टरका रुपमा पनि एक वर्ष काम गरेका थिए । २०७६ सालको कात्तिक महिनामा उनी एन्फाको टेक्निकल डाइरेक्टर बनेर नेपाल आएका थिए । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनलमा भारतसँग पराजित भएपछि नेपाली महिला फुटबल टोलीका तत्कालिन मुख्य प्रशिक्षक हरी खड्काले राजिनामा दिएपछि केहि समय नेपाल प्रशिक्षक विहिन बनेको थियो ।

एन्फाले २०७७ साल फागुनमा टेक्निकल डाइरेक्टर ग्यारी फिलिप्सलाई महिला राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । कोरोना महामारी पछिको महिला फुटबललाई लयमा फर्काउनु उनलाई चुनौती थियो । नेपालले एसियन कप छनोट उनकै प्रशिक्षणमा खेलेको थियो ।

ग्यारी फिलिप्सले पहिलोपटक प्रिती राई, रश्मी घिसिङ, सविता राना, रजनी थोकर, सिर्जना सिंह, विमला बिक र निशा थोकर गरी ७ खेलाडीलाई राष्ट्रिय टोलीमा स्थान दिएका थिए । भर्खरै मात्र साफ च्याम्पियनसिपमा फाइनल गुमाएपछि नेपालका मुख्य प्रशिक्षक कुमार थापाले पदबाट राजीनामाको घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्